कथावाचन क्षेत्रको उदाउँदो नाम मानिएकी योगमाया सखी जेरी आगामी श्रीमद्भागवत सप्ताह सत्सङ्ग ज्ञान महायज्ञमा प्रमुख कथावाचिकाको रूपमा सहभागी हुन श्रीधाम वृन्दावन, भारत प्रस्थान गरेकी छन्। अस्माकं विद्यालय, पानीघाटमा डिसेम्बर ११ देखि डिसेम्बर १७ सम्म सञ्चालन हुने सातदिने महायज्ञमा विभिन्न धार्मिक कार्यक्रम, प्रवचन, भजन तथा भागवत कथा समावेश गरिनेछ। यस वर्षको मूल आकर्षण भनेकै प्रमुख वाचिकाको रूपमा जेरीको उपस्थिति मानिएको छ।
सानैदेखि धार्मिक ग्रन्थप्रतिको लगाव बोकेकी जेरीको यात्रा सामान्य होइन। ९–१० कक्षामा पढ्ने उमेरमै उनी भागवतका श्लोकहरू सहजै कण्ठ गर्ने गर्थिन्। परिवारका अनुसार, स्वर्गीय वाचन शिरोमणि नारायण पोख्रेलको शैली हुबहु नक्कल गर्दै उनले बाल्यकालमै कथा सुनाउने अभ्यास गरेकी थिइन्। यद्यपि त्यो समयमा कतिपयले उनलाई “पागल भईछ” भनी जिस्क्याउनेसम्म गरेको परिवार बताउँछ। तर जेरीले त्यसलाई कमजोरी होइन, आफ्नो सिद्धिको बाटो ठानेर निरन्तर अध्ययन जारी राखिन्।
भागवतप्रतिको आकर्षणले उनलाई वर्षौँसम्म आत्मअध्ययनमा तानिरह्यो। यही खोजीले उनी गत वर्षको घटस्थापनाको दिन आफ्नो सीप विस्तार गर्न वृन्दावन लागिन्। त्यहीँ उनले अध्यात्म, वाचनशैली, भावअभिव्यक्ति र कथा प्रस्तुतिको गहिरो अभ्यास गरिन्। र आज, ठ्याक्कै १५ महिनापछि, उनी पुनः त्यही वृन्दावन फर्किँदैछिन्—तर योपटक “विद्यार्थी” भएर होइन, “प्रमुख कथावाचिका” भएर। उनीका अनुयायीका अनुसार, यही संयोग नै उनको आध्यात्मिक यात्राको सबैभन्दा भावनात्मक मोड बनेको छ।
यद्यपि, उनको प्रगति सहज भएन। सामाजिक सञ्जालमा केहीले उनलाई “छोटो समयमै वाचिका बनेको” भन्दै आलोचना गरे। तर जेरीका नजिकका स्रोतका अनुसार, उनले विगत १० वर्षदेखि निरन्तर भागवत अध्ययन गरिरहेकी थिइन्। त्यो अध्ययन सार्वजनिक नभएकाले, उनीबारे अनेक भ्रम फैलियो। तर जेरीले आलोचनालाई भन्दा कामलाई महत्व दिइन्। उनको कथा प्रस्तुतिमा देखिने स्वभाविकता, स्वरको गहिराइ र भावानुवादका कारण धेरैले उनको शैलीलाई प्रख्यात कथावाचिकासँग तुलना गर्न थालेका छन्।

पछिल्लो केही दिनमा उनले चन्द्रागिरी बलम्बु, दक्षिणकालीलगायत स्थानमा सफलतापूर्वक कथा कार्यक्रम सम्पन्न गरिसकेकी छन्। बलम्बुमा सम्पन्न कार्यक्रममा उनको प्रस्तुतीप्रति प्रभावित एक भक्तले जेरी संस्कृति फाउन्डेसनलाई तीन आना जग्गा दानसम्म प्रदान गरेका थिए। त्यो घटना जेरीको सामाजिक र सांस्कृतिक प्रभाव वृद्धि हुँदै गएको सूचकका रूपमा हेरिएको छ।
उनी कथावाचनकै लागी हिजो वृन्दावन प्रस्थान गरिन्, जहाँ सातदिने महायज्ञमा हजारौँ भक्तजन भेला हुने अपेक्षा छ। आयोजकहरूका अनुसार, जेरीको वाचनले कार्यक्रममा नयाँ ऊर्जा र समकालीन शैलीको सन्देश प्रवाह हुनेछ। परम्परा, भक्ति र आधुनिक प्रस्तुतिको मिश्रण उनकाे विशेषता मानिन्छ।
यस्तै, युवा पुस्ताले भागवतप्रति आकर्षित हुने क्रममा जेरी “प्रेरणादायी पात्र”का रूपमा उदाउँदै गएको बताइन्छ। अध्ययन, आत्मानुशासन र निरन्तरताको भरले कसरी व्यक्तिले आफ्नो मार्ग निर्माण गर्न सक्छ भन्ने उनी स्वयं उदाहरण हुन्।
वृन्दावनमा हुने यो महायज्ञ जेरीका लागि मात्र होइन, नेपाली वाचन क्षेत्रमा पनि एउटा महत्वपूर्ण संकेतकका रूपमा हेरिँदैछ—जहाँ एक नेपाली युवती भारतजस्तो धार्मिक केन्द्रमा प्रमुख वाचिकाको रूपमा उभिन लागेकी छन्।
-
सुमन परियार र मेनुका सोनीको ‘डिप्रेसन’ सार्वजनिक, प्रेम धोका र मानसिक पीडाको कथा
-
किन आयो युवा नेता मुकुन्द सिलवालको राजिनामा
-
कागभुसुण्डे मन्दिरमा धार्मिक एवं सांस्कृतिक कागबेनी मेला हुने
-
मानुङकोटको प्रेमकथामा आधारित बद्री सापकोटा र अमृत अधिकारीको ‘मानुङकोटैमा’ सार्वजनिक
-
लोक दोहोरी क्षेत्रमा जम्दै हरिचन्द्र भट्ट क्षेत्री