logo

बुधबार, माघ २१ २०८२

kantipurpationlinetv

२०८२ माघ २१ बुधबार

कांग्रेस गोरखामा प्रेम र प्रकाशचन्द्रले पाए टिकट

कांग्रेस गोरखामा प्रेम र प्रकाशचन्द्रले पाए टिकट


  • सोमबार, माघ ५ २०८२
  • 9.9K
    SHARES

    नेपाली कांग्रेसले गोरखा जिल्लाका दुवै प्रतिनिधि सभा क्षेत्रका लागि उम्मेदवार चयन गर्दै निर्वाचनको तयारीलाई तीव्र बनाएको छ। पार्टीको तल्ला तहका समितिहरूको सिफारिसका आधारमा संसदीय बोर्डले आज उम्मेदवार टुंगो लगाएको हो।

    कांग्रेसले गोरखा क्षेत्र नम्बर १ बाट प्रेमकुमार खत्री र क्षेत्र नम्बर २ बाट प्रकाशचन्द्र दवाडीलाई उम्मेदवार बनाएको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि भोलि उम्मेदवारी दर्ताको कार्यक्रम तय गरिएको छ।

    क्षेत्र नम्बर १ का उम्मेदवार प्रेमकुमार खत्री नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य हुन्। उनी पार्टी संगठन सुदृढीकरण र आन्तरिक गतिविधिमा सक्रिय नेताका रूपमा परिचित छन्।

    त्यस्तै, क्षेत्र नम्बर २ का उम्मेदवार प्रकाशचन्द्र दवाडी गण्डकी प्रदेशका पूर्व सांसद तथा गोरखामा लोकप्रिय नेताका रूपमा चिनिन्छन्। सांसद हुँदा उनले कुनै पनि तलब–भत्ता नलिई सम्पूर्ण रकम जनताको सेवामा खर्च गरेको तथ्यले उनीप्रति जनविश्वास थप बलियो बनेको कांग्रेस कार्यकर्ताहरू बताउँछन्।

    “मेरो राजनीति समाजको टेवा र तपाईंहरूको सेवाका लागि हो” भन्ने नारासहित चुनावी मैदानमा उत्रिएका दवाडी विसं २०७४ मा कांग्रेसबाट जित्ने एक्लो सांसदसमेत हुन्। उक्त निर्वाचनमा गोर्खासहित छिमेकी जिल्ला लमजुङ, तनहुँ, चितवन र धादिङमा कांग्रेस कमजोर अवस्थामा रहे पनि दवाडीले गोरखा क्षेत्र नम्बर २ (प्रदेश ख) बाट तत्कालीन नेकपा गठबन्धनलाई पराजित गर्दै कांग्रेसको इज्जत जोगाएका थिए।

    विसं २०७४ मा प्रदेशसभा सदस्यमा निर्वाचित दवाडी जनतामाझ लोकप्रिय मात्र होइन, वरिष्ठ समाजसेवीका रूपमा पनि चिनिन्छन्। “मेरो समाजसेवा र राजनीति कुनै स्वार्थका लागि होइन, खास अर्थका लागि हो” भन्ने उनको भनाइ अहिले चुनावी नाराका रूपमा गोरखामा गुञ्जिरहेको छ।

    कांग्रेसले उम्मेदवार टुंग्याएसँगै गोरखाको चुनावी माहोल थप तातेको छ। अन्य दलहरूले समेत रणनीति परिमार्जन गर्न थालेपछि गोरखामा यसपटकको निर्वाचन झनै रोचक हुने देखिएको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech