आगामी फागुन २१ गते हुने निर्वाचनका लागि खटिने कर्मचारी र सुरक्षाकर्मीहरू आज अपराह्नसम्म देशभरका मतदान केन्द्रहरूमा परिचालन हुने भएका छन्। **निर्वाचन आयोग**ले सोमबार अपराह्नसम्म मतदानमा खटिने सबै कर्मचारीलाई सम्बन्धित केन्द्रमा पुग्न परिपत्र जारी गरेको हो।
दुर्गम तथा विकट भेगका मतदान केन्द्रहरूमा केही दिनअघिदेखि नै सुरक्षाकर्मीसहितको टोली पुगिसकेको आयोगले जनाएको छ। यातायातको सुविधा पुगेका स्थानमा भने सोमबार अपराह्नसम्म अनिवार्य रूपमा केन्द्रमा पुगेर आवश्यक तयारी गर्न निर्देशन दिइएको छ।
आयोगका प्रवक्ता **नारायणप्रसाद भट्टराई**का अनुसार सोमबार बेलुकासम्म सबै मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मीको टोली पुगिसक्नुपर्नेछ। “निर्वाचन सामग्री बुझेर मतदान केन्द्रमा पुगेपछि कर्मचारीहरूले सोही दिन केही तयारीका काम पनि सम्पन्न गर्नुपर्ने हुन्छ,” उनले बताए।
चारकिल्ला निर्धारण र सूचना टाँस्ने तयारी
प्रवक्ता भट्टराईका अनुसार सोमबार अपराह्नसम्म मतदान केन्द्रको चारकिल्ला तोकी सो सम्बन्धी सूचना सार्वजनिक गर्नुपर्नेछ। कुन–कुन क्षेत्र मतदान केन्द्रको परिधिभित्र पर्छ भन्ने स्पष्ट देखिने गरी सूचना टाँसिनेछ।
देशभरका निर्वाचन अधिकृतको कार्यालयबाट सुरक्षाकर्मीहरूको उपस्थितिमा सम्बन्धित मतदान अधिकृतहरूले निर्वाचन सामग्री बुझ्ने व्यवस्था गरिएको छ। निर्वाचन सम्पन्न नहुञ्जेलसम्म सुरक्षाकर्मी र निर्वाचन कर्मचारीहरूको टोली सँगै रहनेछ।
आयोगका अनुसार आइतबारसम्म विकटका दुई सयभन्दा बढी मतदान केन्द्रमा कर्मचारी पुगिसकेको रिपोर्ट प्राप्त भएको थियो। विशेषगरी सुदूरपश्चिम र कर्णाली प्रदेशका सडक सुविधा नपुगेका तथा सदरमुकामबाट टाढा रहेका करिब तीन सय मतदान केन्द्रमा आइतबार अपराह्नसम्म कर्मचारी र सुरक्षाकर्मी परिचालन भइसकेका थिए।
सडक सञ्जाल पुगेका क्षेत्रहरूमा पनि कर्मचारीहरू क्रमशः केन्द्रमा पुगिरहेका छन्। शहरी क्षेत्र र तराईका मतदान केन्द्रहरूमा ढिलोमा पनि सोमबार अपराह्नसम्म सबै कर्मचारी पुगिसक्ने आयोगको तयारी छ।
सुरक्षा व्यवस्था कडा
मतदान अधिकृतको जिम्मामा रहने मतपत्रलगायत निर्वाचन सामग्रीको सुरक्षा **नेपाल प्रहरी**ले गर्नेछ। निर्वाचन आयोग र प्रहरी प्रधान कार्यालयले सुरक्षाकर्मीहरूलाई मतदान अधिकृत तथा सिलबन्दी गरिएका मतपत्र र अन्य सामग्रीलाई निरन्तर निगरानीमा राख्न निर्देशन दिएको छ। मतदान प्रक्रिया सम्पन्न नहुञ्जेल २४सै घण्टा सुरक्षा व्यवस्था कायम रहनेछ।
मतदान केन्द्र निर्धारणको व्यवस्था
मतदान केन्द्र निर्धारण कार्यविधिअनुसार प्रत्येक स्थानीय तहको प्रत्येक वडामा कम्तीमा एक मतदान केन्द्र रहने व्यवस्था छ। मतदातालाई दूरीका कारण असहज हुने अवस्था भएमा एकभन्दा बढी केन्द्र तोक्न सकिनेछ। सामान्यतः एक मतदान केन्द्रमा एक हजारभन्दा बढी मतदाता राखिँदैन।
यदि मतदाता संख्या बढी भएमा एउटै मतदान स्थलभित्र क, ख, ग गरी अलग–अलग मतदान केन्द्र तोकिनेछ। तर एउटै स्थानमा सातभन्दा बढी मतदान केन्द्र राख्न नपाइने व्यवस्था कार्यविधिमा उल्लेख छ।
सर्वपक्षीय बैठक र अन्य तयारी
मतदान केन्द्रमा पुगेपछि मतदान अधिकृतले चारकिल्ला सम्बन्धी सूचना टाँसेपछि सकेसम्म चाँडो सर्वपक्षीय बैठक बोलाउनुपर्नेछ। त्यसपछि निर्वाचन प्रचारप्रसार रोकिएको सूचना जारी गरिनेछ।
मतदान केन्द्रको संरचना तयार पार्ने, मतदान सुरु भएदेखि सम्पन्न हुँदासम्म आवश्यक सर्वपक्षीय बैठक गर्ने तथा मतपेटिकाको मुचुल्का तयार पार्ने जिम्मेवारी पनि मतदान अधिकृतकै रहनेछ।
मतदान सकिएपछि सबै दलका प्रतिनिधिहरूको उपस्थितिमा मतपेटिका मुचुल्का गरी निर्वाचन अधिकृतको कार्यालयमा बुझाइनेछ। मतपेटिका र अन्य सामग्री सुरक्षित रूपमा बुझाइसकेपछि मात्र मतदान केन्द्रमा खटिएका कर्मचारी र सुरक्षाकर्मीहरूको जिम्मेवारी पूरा हुने प्रवक्ता भट्टराईले जानकारी दिए।
उनका अनुसार मतदान अवधिभर कर्मचारी र सुरक्षाकर्मीहरू सँगै रहेर निर्वाचन प्रक्रिया सम्पन्न गराउनुपर्नेछ।
-
दुष्प्रचार गरिएको भन्दै गोरखा १ का उम्मेदवार खत्रीद्वारा निर्वाचन आयोग र प्रेस काउन्सिलमा उजुरी
-
निर्वाचनको मुखमा चरित्र हत्या गर्ने प्रयास, भ्रममा नपर्न आग्रह
-
प्रकाशचन्द्र दवाडीलाई हरि घलेको आशीर्वाद: चुनाव जितेपछि मन्त्री बन्ने विश्वास व्यक्त
-
गोरखामा बाबुराम आबद्ध प्रलोपाद्वारा कांग्रेसलाई समर्थन
-
नेपाली काङ्ग्रेसका उम्मेदवार प्रकाशचन्द्र दवाडीद्वारा घोषणा–पत्र सार्वजनिक