बझाङ — बझाङबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका ऐन महरले सामाजिक सञ्जाल फेसबुकमार्फत बझाङबासीलाई धन्यवाद व्यक्त गर्दै जनताले दिएको विश्वासलाई कायम राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
निर्वाचनमा आफूलाई विजयी बनाएकोमा बझाङका आमाबुवा, दिदीबहिनी तथा दाजुभाइहरूप्रति उनले हार्दिक आभार व्यक्त गरेका हुन्। फेसबुकमा उनले लेखेका छन्, “आशा, विश्वास र भरोसाका लागि बझाङबासी आमाबुवा, दिदीबहिनी तथा दाजुभाइहरूलाई हार्दिक आभारसहित धन्यवाद व्यक्त गर्दै शिर निहुराएर नमन गर्दछु। साथै यो विश्वास र भरोसालाई अक्षुण्ण राख्ने निरन्तर प्रयास रहने प्रतिबद्धता गर्दछु।”
उनले राष्ट्र, राष्ट्रियता, लोकतन्त्र र संविधानप्रति दृढ संकल्पित रहँदै बझाङको बलियो आवाज बन्ने र बझाङबासीको सुख–दुःखमा साथ दिने प्रतिबद्धता समेत व्यक्त गरेका छन्। साथै आगामी दिनमा सबैको साथ र सहयोगको अपेक्षा गरेका छन्।
२ चैत २०४० मा बझाङको सुवेडा गाविस (हाल जयपृथ्वी नगरपालिका–७) मा पिता रामबहादुर महर र आमा रतनाको कोखबाट जन्मिएका महरको राजनीतिक यात्रा संघर्ष र उतारचढावले भरिएको छ। स्नातकोत्तर अध्ययन पूरा गरी हाल एमफिल अध्ययनरत महर यसअघि २०७९ सालमा भएको प्रतिनिधि सभा निर्वाचनमा पराजित भएका थिए। सो निर्वाचनमा गठबन्धनका उम्मेदवार भानुभक्त जोशीसँग उनी ९९८ मतले पछि परेका थिए।
विद्यार्थी राजनीतिबाट उदाएका महरले २०५५ सालमा अस्कल क्याम्पसबाट अनेरास्ववियुको राजनीति सुरु गरेका थिए । २०६५ सालमा पोखरामा सम्पन्न अनेरास्ववियूको १९औं अधिवेसनबाट केन्द्रीय सदस्य बनेका महर २०६७ सालमा सचिवालय सदस्य, २०७० सालमा उपाध्यक्ष हुँदै २०७६ सालमा सोही संगठनको अध्यक्ष बनेका थिए । कर्णाली र सुदूरपश्चिम प्रदेशबाट अनेरास्वियुको अध्यक्ष हुने उनी पहिलो व्यक्ति हुन् । २०७८ र २०८२ सालमा भएको एमालेको महाअधिवेशनबाट केन्द्रीय सदस्यमा विजयी महर जनआन्दोलन २०६२/०६३ मा सक्रियरुपमा सहभागी थिए । भूकम्प, कोभिड महामारीका बेला सामाजिक कार्यमा सक्रिय महरले विद्यार्थी नेता हुँदा नेपालको शैक्षिक क्षेत्रको सुधारको लागि चर्को आवाज उठाएका थिए ।
यसपटकको निर्वाचनमा महरले नेपाली कांग्रेसका उम्मेदवार प्रकाश रसाइलीलाई २ हजार २३९ मतान्तरले पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन्। महरले १८ हजार ५४३ मत प्राप्त गर्दा रसाइलीले १६ हजार ३०४ मत ल्याएका थिए। त्यस्तै नेकपाका मिनबहादुर कुँवरले ९ हजार ७५७ र राष्ट्रिय स्वतन्त्र पार्टीका शैलेसकुमार सिंहले ९ हजार २६३ मत प्राप्त गरेका छन्। बझाङमा कुल ५८ हजार ९४४ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
निर्वाचन अभियानका क्रममा जिल्लाका गाउँ–गाउँ पुगेर स्थानीयसँग संवाद गरेका महरले बझाङका आधारभूत समस्या समाधान गर्दै जिल्लालाई विकासको मार्गमा अघि बढाउने प्रतिबद्धता जनाएका छन्। उनले बझाङलाई सडक र सञ्चार पूर्वाधार विस्तार गर्दै जलविद्युत् उत्पादनको केन्द्रका रूपमा विकास गर्ने, साथै पर्यटन, कृषि र जडीबुटीमार्फत रोजगारीका अवसर सिर्जना गर्ने योजना अघि सारेका छन्।
“बझाङको आवाज केन्द्रसम्म पुर्याउने र केन्द्रको स्रोत दुर्गम बस्तीहरूसम्म पुर्याएर जिल्लाका सम्भावनाहरू उजागर गर्न हरसम्भव प्रयास गर्नेछु,” उनले भनेका छन्, “बझाङी जनताले गरेको विश्वासलाई निराशामा परिणत हुन दिने छैन।”
-
दुष्प्रचार गरिएको भन्दै गोरखा १ का उम्मेदवार खत्रीद्वारा निर्वाचन आयोग र प्रेस काउन्सिलमा उजुरी
-
निर्वाचनको मुखमा चरित्र हत्या गर्ने प्रयास, भ्रममा नपर्न आग्रह
-
गोरखा–२ मा कांग्रेस–प्रलोपा संयुक्त प्रचार, घरदैलो अभियान तीव्र
-
जहाँ संकट, त्यहाँ प्रेमः गोरखाको माटोले चिनेको एउटा निस्वार्थ नाम
-
गोरखामा बाबुराम आबद्ध प्रलोपाद्वारा कांग्रेसलाई समर्थन