गोरखा क्षेत्र नम्बर १ का उम्मेदवार एवं युवा समाजसेवी प्रेमकुमार खत्रीले निर्वाचनको परिणामलाई लोकतन्त्रको सुन्दर अभ्यासको रूपमा स्वीकार गर्दै विजयी उम्मेदवारलाई बधाई र मतदातालाई धन्यवाद ज्ञापन गरेका छन् ।
अन्तिम मतपरिणाम सार्वजनिक भएलगत्तै एक विशेष सन्देश जारी गर्दै खत्रीले जनमतलाई शिरोधार्य गर्ने बताएका हुन्। उनले आफ्ना प्रतिस्पर्धी एवं नवनिर्वाचित सांसद सुदन गुरुङलाई सफल कार्यकालको शुभकामना दिँदै गोरखाको विकासका लागि रचनात्मक सहकार्यको प्रतिबद्धता समेत व्यक्त गरेका छन्।
खत्रीले हिमालपारिदेखि गण्डकी र दरौंदीका फाँटसम्म फैलिएको गोरखा १ को भूगोल चुनौतीपूर्ण र सम्भावनायुक्त रहेको उल्लेख गर्दै भनेका छन्,‘यहाँको माटोको भावना, जनताको आवश्यकता र भविष्यको आकांक्षालाई केन्द्रमा राखेर अघि बढ्न म उहाँलाई (सुदन गुरुङ) हार्दिक आग्रह गर्दछु। चुनावी प्रतिस्पर्धा सकिएको छ, अब गोरखाको समृद्धिका लागि मेरो सधैं साथ रहनेछ।’
आफूलाई उम्मेदवार बनाएकोमा नेपाली कांग्रेस पार्टीप्रति कृतज्ञता प्रकट गर्दै खत्रीले आफ्नो पक्षमा अहोरात्र खटिने नेता, कार्यकर्ता र शुभेच्छुकहरूको पसिना र समर्पणलाई आफ्नो अमूल्य पुँजी भनेका छन्। नतिजा आफ्नो पक्षमा नआए पनि मतदाताले देखाएको प्रेम र विश्वासलाई जीवनभर सम्झिरहने उनको भनाइ छ।
‘मप्रति भरोसा राखेर मतदान गर्नुहुने सम्पूर्णसँग म क्षमा पनि चाहन्छु। तपाईंहरूको अथक मेहनत र विश्वासलाई मैले चुनावी नतिजाको गन्तव्यसम्म पुर्याउन सकिन’ खत्रीले भावुक शैलीमा ब्यक्त गरेका छन् ।
विगत १५ वर्षदेखि गोरखाको सामाजिक सेवा, स्वास्थ्य र शिक्षा क्षेत्रमा सक्रिय खत्रीले चुनावी हारले आफ्नो सेवाको यात्रा नरोकिने समेत स्पष्ट पारेका छन्। उनले भनेका छन्, ‘तपाईँहरूसँगको मेरो सम्बन्ध कुनै सांसदको पद वा राजनीतिक शक्तिमा मात्र सीमित छैन। हाम्रो सम्बन्ध त यो पवित्र माटो, साझा संकल्प र रगत–पसिनाले गाँसिएको आत्मीय नाता हो।’
आफू हिजो पनि जनताको सुख–दुःखको सारथी रहेको र भोलिका दिनमा झन् बढी जिम्मेवार बनेर सामाजिक अभियानमा सक्रिय रहने प्रतिबद्धताका पनि गरेका छन् ।
राजनीतिक वृत्तमा खत्रीको यो अभिव्यक्तिलाई एक ‘संस्कारी र परिपक्व राजनीतिक चरित्रको रूपमा हेरिएको छ।
-
तीन जिल्लाको भूगोल, इतिहास र मातृभूमिको प्रेम समेट्दै रामचन्द्र ढकालको ‘स्याङ्जाको बजार–२, म्हाँजु भञ्ज्याङ’ सार्वजनिक
-
धुम्बाराहीमा खुल्दै जिग्री सेकुवाको १०औँ आउटलेट, पहिलो १०० ग्राहकलाई विशेष अफर
-
रेडियोको माइक्रोफोनदेखि कमेडीको मञ्चसम्म : गोरखाका आशिष न्यौपानेको यात्रा
-
नेपाल कपडा तथा सिलाइ व्यवसायी महासंघको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
-
ताकुकोट न्वागी मेला मंसिर ५ र ६ गते, बल्छी ध्रुवेसहित चर्चित कलाकारहरुको भव्य प्रस्तुति रहने