logo

बुधबार, फाल्गुन २६ २०८२

kantipurpationlinetv

२०८२ फाल्गुन २६ बुधबार

गोरखामा प्रतिनिधिसभा निर्वाचनमा पाँच हजारभन्दा बढी मत बदर

गोरखामा प्रतिनिधिसभा निर्वाचनमा पाँच हजारभन्दा बढी मत बदर


  • बुधबार, फाल्गुन २६ २०८२
  • 4.3K
    SHARES

    नेपालमा वि.सं. २०१५ सालदेखि प्रतिनिधिसभाको निर्वाचन सुरु भएको हो। पञ्चायती व्यवस्थाका समयमा पनि एक पटक जनमत संग्रह र २०३८ तथा २०४३ सालमा राष्ट्रिय पञ्चायतको निर्वाचन सम्पन्न भएका थिए। प्रजातन्त्र पुनःस्थापनापछि २०४८, २०५१, २०५६, २०६४, २०७०, २०७४, २०७९ र २०८२ सालमा भएका निर्वाचनमा उमेर पुगेका बालिग मतदाताले मतदान गर्ने अवसर पाएका छन्।

    करिब एक दर्जन पटक मतदान भए पनि ठूलो संख्यामा मत बदर हुने समस्या भने अझै कायम छ। हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा गोरखा जिल्लामा मात्रै ५ हजार २२८ मत बदर भएका छन्, जुन जिल्लामा खसेको कुल मतको ४.३२ प्रतिशत हो।

    निर्वाचन परिणामअनुसार गोरखा क्षेत्र नं. १ मा २ हजार २१९ मत बदर भएका छन् भने क्षेत्र नं. २ मा ३ हजार ९ मत बदर भएका छन्। दुवै निर्वाचन क्षेत्रमा गरी १ लाख २० हजार ७६५ मत खसेको थियो।
    क्षेत्र नं. १ मा ६३ हजार ६०९ मत खसेकामा ६१ हजार ३९० मत मात्र सदर भएका छन्। त्यस्तै क्षेत्र नं. २ मा ५७ हजार १५६ मत खसेकामा ५४ हजार १४७ मत मात्र सदर भएका छन्।

    जिल्ला निर्वाचन कार्यालय गोरखाका अनुसार गोरखा नगरपालिकामा ९६५ मत बदर भएका छन्। यहाँ २१ हजार ५१० मत खसेकामा कुल मतको ४.४८ प्रतिशत मत बदर भएको हो।
    त्यस्तै पालुङटार नगरपालिकामा ८८३ मत (२.६९ प्रतिशत) बदर भएका छन् भने बारपाक सुलिकोट गाउँपालिकामा ६४९ मत बदर भएका छन्, जुन त्यहाँ खसेको कुल मतको ५.९५ प्रतिशत हो।

    सबैभन्दा धेरै मत बदर हुने पालिका अजिरकोट गाउँपालिका रहेको छ। यहाँ खसेको ६ हजार ३०१ मतमध्ये ४१६ मत बदर भएका छन्, जुन ६.१९ प्रतिशत हो।
    सिरानचोक गाउँपालिकामा ५८५ मत बदर भएका छन्, जुन त्यहाँ खसेको कुल मतको ५.४२ प्रतिशत हो।

    गोरखाको गण्डकी गाउँपालिकामा भने मत बदर हुने दर तुलनात्मक रूपमा कम देखिएको छ। यहाँ २६९ मत अर्थात २.७१ प्रतिशत मत बदर भएका छन्।
    सहिद लखन गाउँपालिकामा ४३६ मत (३.४२ प्रतिशत) बदर भएका छन् भने भीमसेन थापा गाउँपालिकामा ३१६ मत बदर भएका छन्, जुन त्यहाँ खसेको ११ हजार ३१ मतको २.८६ प्रतिशत हो।

    जिल्लाको आरुघाट गाउँपालिकामा ३५३ मत बदर भएका छन्, जुन कुल मतको ४.६५ प्रतिशत हो।
    उत्तरी गोरखाका धार्चे र चुमनुब्री गाउँपालिकामा पनि मत बदर हुने दर कायम देखिएको छ। धार्चेमा ८ हजार ८२८ मत खसेकामा २४० मत (२.६९ प्रतिशत) बदर भएका छन् भने चुमनुब्री गाउँपालिकामा ९९ मत अर्थात ४.१६ प्रतिशत मत बदर भएका छन्।

    जिल्ला निर्वाचन कार्यालयका अनुसार मतदातामा मतदान प्रक्रियाबारे पर्याप्त जानकारी नहुँदा र मतपत्र सही तरिकाले नछाप्दा मत बदर हुने समस्या देखिने गरेको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech