logo

शनिबार, जेष्ठ ३० २०८३

kantipurpationlinetv

२०८३ जेष्ठ ३० शनिबार

प्रधानमन्त्री कार्की र रास्वपा सभापति लामिछानेबीच शिष्टाचार भेटवार्ता

प्रधानमन्त्री कार्की र रास्वपा सभापति लामिछानेबीच शिष्टाचार भेटवार्ता


  • आइतबार, चैत्र ८ २०८२
  • 5.2K
    SHARES

    ८ चैत, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज प्रधानमन्त्री सुशीला कार्कीसँग प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेटवार्ता गरेका छन्।

    भेटका क्रममा सभापति लामिछानेले प्रधानमन्त्री कार्कीको नेतृत्वमा सम्पन्न प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न भएकोमा बधाई तथा धन्यवाद व्यक्त गरे। उनले उक्त निर्वाचनमार्फत मुलुकले लोकतान्त्रिक निकास पाएको उल्लेख गर्दै यसलाई महत्वपूर्ण उपलब्धिका रूपमा व्याख्या गरे।

    सभापति लामिछानेले प्रधानमन्त्री कार्कीको दृढ नेतृत्व र अडानकै कारण निर्वाचन सफलतापूर्वक सम्पन्न भएको उल्लेख गर्दै उहाँप्रति उच्च सम्मान व्यक्त गरेका छन्। साथै, आगामी दिनमा समेत मार्गदर्शन तथा अभिभावकीय भूमिकाको अपेक्षा रहेको बताएका छन्।

    सो अवसरमा प्रधानमन्त्री कार्कीले रास्वपाले निर्वाचनमा हासिल गरेको उपलब्धिका लागि बधाई दिँदै देश र जनताप्रति इमानदारीपूर्वक काम गर्न सुझाव दिइन्। उनले वर्तमान चुनौतीहरूलाई आत्मसात् गर्दै परिणाममुखी ढंगले अघि बढ्नुपर्नेमा जोड दिइन्।

    भेटमा समसामयिक राजनीतिक विषयहरूमा समेत छलफल भएको थियो। सभापति लामिछानेले वर्तमान सरकारले गरेका निर्णयहरूप्रति आफ्नो दलको कुनै आपत्ति नरहेको स्पष्ट पार्दै सरकारलाई आफ्नो कार्यकालको अन्तिम समयसम्म प्रभावकारी रूपमा काम गर्न आग्रह गरे।

    त्यसैगरी, उनले विदेशमा रहेका नेपाली विद्यार्थी तथा श्रमिकसँग सम्बन्धित विषयहरू, विशेषगरी पोर्चुगलमा नेपाली विद्यार्थीले भोगिरहेका समस्या, मध्यपूर्वमा विकसित परिस्थितिका बीच नेपाली श्रमिकको सुरक्षा तथा पेट्रोलियम पदार्थको आपूर्तिलगायत विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page