गोरखामा भएको माइक्रोबस दुर्घटनामा मृत्यु भएका सात जना भारतीय भक्तजनको शव भारतीय दूतावासलाई बुझाइएको छ। आइतबार साँझ पोस्टमार्टम सम्पन्न गरेपछि दूतावासका प्रतिनिधिलाई शव हस्तान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।
प्रहरी निरीक्षक राजन लम्सालका अनुसार शवको पोस्टमार्टम प्रदेश अस्पताल गोरखामा गरिएको थियो। पोस्टमार्टमपछि दूतावासबाट आएका प्रतिनिधिलाई शव बुझाइएको र शव ग्रहण गरेलगत्तै दूतावासको टोली काठमाडौं प्रस्थान गरेको प्रहरीले जनाएको छ।
दुर्घटना शनिबार साँझ करिब ८ बजेतिर सहिद लखन गाउँपालिका–३ कानटार नजिक भएको थियो। मनकामना मन्दिरमा पूजाआजा गरेर फर्कने क्रममा बाग्मती प्रदेश १–००६ख८४३० नम्बरको माइक्रोबस भीरबाट करिब दुई सय मिटर तल खस्दा सात जनाको घटनास्थलमै मृत्यु भएको थियो।
दुर्घटनामा मृत्यु हुनेहरूमा भारतको तमिलनाडु राज्यको चेन्नईका ५८ वर्षीय मुतु कुमार, ५८ वर्षीय अनामलिक, ५९ वर्षीया मीनाक्षी, ५३ वर्षीया शिवगामी, ५७ वर्षीया विजायल, ५८ वर्षीया मिना र ६० वर्षीया तमिलारशी रहेका छन्।
माइक्रोबसमा १४ जना भारतीय नागरिकसहित चालक र सहचालक गरी १६ जना सवार थिए। दुर्घटनामा नौ जना घाइते भएका छन्। घाइतेहरूको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार आइतबार बेलुकासम्म पाँच जनाको आईसीयूमा र चार जनाको सामान्य वार्डमा उपचार भइरहेको छ।
दुर्घटनाग्रस्त माइक्रोबसमा ११ जना महिला र पाँच जना पुरुष सवार थिए। चालकको अवस्था सामान्य रहेको छ भने सहचालक गम्भीर घाइते भएका छन्।
प्रहरीका अनुसार ती भक्तजनहरू मुक्तिनाथको दर्शन सकेर मनकामना दर्शन गर्न आएका थिए। दुई वटा माइक्रोबसमा सवार २४ जना भक्तजनमध्ये एउटा माइक्रोबस दुर्घटनामा परेको हो।
-
चुनावी परिणामपछि प्रकाशचन्द्र दवाडीको सन्देश: गोरखाको विकासमा सधैँ साथ रहने प्रतिबद्धता
-
अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागिता जनाउन कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पतालका चिकित्सक टोली उज्बेकिस्तान प्रस्थान
-
गोरखा–२ मा नेपाली कांग्रेसका प्रकाशचन्द्र दवाडीको निर्वाचन खर्च २२ लाख ५५ हजार
-
गोरखामा तारजाली र सिसिटिभी सहितको मतगणनास्थल तयार
-
प्रेमकुमार खत्रीको शालीनताः पराजय स्वीकार्दै सुदन गुरुङलाई बधाई, पद नरहे पनि सेवाको यात्रा नरोकिने अठोट