logo

आइतबार, चैत्र ७ २०८२

kantipurpationlinetv

२०८२ चैत्र ७ आइतबार

गोरखाको छेपेटारमा जेष्ठ नागरिक आवास सञ्चालनमा आउने तयारी

गोरखाको छेपेटारमा जेष्ठ नागरिक आवास सञ्चालनमा आउने तयारी


  • आइतबार, चैत्र ७ २०८२
  • 3.3K
    SHARES

    गोरखा: गोरखा नगरपालिका–१० छेपेटारमा निर्माण गरिएको जेष्ठ नागरिक आवास भवन अब सञ्चालनमा ल्याउने तयारी गरिएको छ। गत बुधबार बसेको गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले उक्त भवन सञ्चालन गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता टकराज गुरुङका अनुसार अब भवनमा जेष्ठ नागरिकलाई राखिनेछ।

    जेष्ठ नागरिकका लागि आवासीय सुविधा उपलब्ध गराउने उद्देश्यले गण्डकी प्रदेश सरकारले करिब साढे चार करोड रुपैयाँ लागतमा भवन निर्माण गरेको हो। तर, निर्माण सम्पन्न भएपनि यसको उपयोगबारे केही समय अन्योल रहेको थियो। मन्त्रिपरिषद्को निर्णयपछि अब भवन सञ्चालनमा आउने अपेक्षा गरिएको छ।

    करिब तीन रोपनी सरकारी जग्गामा बनेको यस परिसरमा तीन वटा संरचना रहेका छन्। एउटा भवन कार्यालय प्रयोजनका लागि छुट्टै निर्माण गरिएको छ भने जेष्ठ नागरिक बसोबासका लागि बनाइएको मुख्य भवनमा २४ वटा कोठासहित एउटा सभा हल रहेको छ। साथै, सुरक्षा गार्डका लागि पनि छुट्टै एक कोठे भवन निर्माण गरिएको छ।

    भवनमा आवश्यक रंगरोगन, विद्युत् जडान लगायतका काम सम्पन्न भइसकेका छन् भने केही कोठामा एयर कन्डिसन (एसी) समेत जडान गरिएको छ। भवनसम्म पुग्ने करिब २०० मिटर सडक कालोपत्रे तथा ढलान गरिसकिएको छ।

    पूर्वाधार विकास कार्यालयका अनुसार २०७६ साल भदौ १ गते आसिस इको जेभीसँग ठेक्का सम्झौता गरी निर्माण कार्य सुरु गरिएको थियो। सुरुमा शहरी विकास तथा भवन कार्यालयमार्फत अघि बढाइएको योजना पछि पूर्वाधार विकास कार्यालयलाई हस्तान्तरण गरिएको थियो।

    दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिए पनि केही ढिलाइ भई गत असोज महिनामा मात्र भवन निर्माण सम्पन्न भएको हो। प्रत्येक प्रदेशमा एक-एक वटा वृद्धाश्रम निर्माण गर्ने सरकारी योजनाअनुसार गण्डकी प्रदेशमा यो भवन गोरखामा निर्माण गरिएको हो।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech