logo

बिहिबार, चैत्र ११ २०८२

kantipurpationlinetv

२०८२ चैत्र ११ बिहिबार

उत्तरी गोरखाको फिलिममा पहिलो पटक पुग्यो मोटर

उत्तरी गोरखाको फिलिममा पहिलो पटक पुग्यो मोटर


  • बिहिबार, चैत्र ११ २०८२
  • 2.7K
    SHARES

    १२ चैत, गोरखा । गोरखाको चुमनुब्री गाउँपालिकास्थित सिर्दिवासको फिलिममा पहिलोपटक मोटर पुगेको छ। बुधबार पर्यटक बोकेको जिप नाग्चेतबाट बुढीगण्डकी नदी पार गर्दै उक्त क्षेत्र पुगेको हो। यो क्षेत्र प्रतिनिधिसभा सदस्य सुधन गुरुङको गृहपालिका पनि हो।

    आरुघाट–लार्के सडकअन्तर्गत नाग्चेत हुँदै पाङसिङसम्म मोटर चल्ने भए पनि मोटरेबल पुल अभावका कारण नाग्चेतपारी रहेको फिलिमसम्म गाडी पुग्न सकेको थिएन।

    स्थानीय व्यवसायीहरूले बुढीगण्डकी नदीमाथि अस्थायी पुल निर्माण गरी गोरेटो बाटो फराकिलो बनाएपछि पहिलोपटक मोटर पुग्न सफल भएको हो। स्थानीय कुमारी गुरुङका अनुसार ह्युम पाइप र फलाम प्रयोग गरेर चार पाङ्ग्रे सवारी आवतजावत गर्न मिल्ने पुल बनाइएको हो।

    उनले भनिन्, ‘पहिले नाग्चेतमा झरेर झोलुङ्गे पुल हुँदै पैदल आउनुपर्थ्यो, अहिले मोटर आउने गरी अस्थायी पुल बनेको छ।’ मोटर पुगेपछि सामान ढुवानी सस्तो हुने र बिरामीलाई एम्बुलेन्समार्फत अस्पताल लैजान सहज हुने स्थानीयको अपेक्षा छ।

    तर अस्थायी पुल दीर्घकालीन समाधान नभएको स्थानीयको भनाइ छ। ‘बाढी आएपछि पुल बगाएर लैजान सक्छ, त्यसैले पक्की पुल आवश्यक छ,’ गुरुङले बताइन्।

    यस क्षेत्रमा पक्की पुल निर्माणका लागि गत भदौमा संघीय टोलीले सर्भे गरेको थियो। तर नाग्चेतपारी बुढीगण्डकी किनारदेखि फिलिमसम्म सडक सञ्जाल नजोडिँदा काम अघि बढ्न सकेको छैन।

    गाउँपालिकाले ४.५ किलोमिटर सडक ट्र्याक खोल्न बजेट विनियोजन गरी आईई स्वीकृत गरेर राष्ट्रिय निकुञ्ज विभागमार्फत वन मन्त्रालयमा पठाएको छ। तर हालसम्म स्वीकृति नआएकाले काम अघि बढ्न नसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेले जानकारी दिए।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech