गोरखा — सिरानचोक गाउँपालिकामा पहिलो लालीगुराँस महोत्सव सुरु भएको छ। श्रीनाथमण्डली तथा कोट विकास समितिको आयोजना तथा गाउँपालिकाको प्रवर्द्धनमा सोमबारदेखि महोत्सव सुरु भएको हो।
नयाँ वर्ष २०८३ वैशाख १ गतेसम्म सञ्चालन हुने महोत्सव अवधिभर विभिन्न कार्यक्रम तथा प्रतियोगिताहरू सञ्चालन गरिने प्रमुख प्रशासकीय अधिकृत ठाकुरप्रसाद खनालले जानकारी दिए। उनका अनुसार महोत्सव १६ दिनसम्म सञ्चालन हुनेछ।
महोत्सवको मुख्य आकर्षणका रूपमा लालीगुराँस पदयात्रा कार्यक्रम रहेको छ। चित्रेपोखरी–गाग्रे डाँडा–श्रीनाथमण्डली–सिरानचोक, थालाजुङ–राम्चे–श्रीनाथमण्डली–सिरानचोककोट, आरुबोट–इलिमपोखरी–सिरानचोककोट–श्रीनाथमण्डली तथा नयाँसाघुँ–अमरसिंह पार्क–नामरुकदेवी–छेडागुफा हुँदै श्रीनाथमण्डली पुग्ने विभिन्न पदमार्ग तय गरिएको छ।
त्यस्तै, महोत्सव अवधिभर लालीगुराँस फोटो तथा भिडियो प्रतियोगिता सञ्चालन गरिनेछ। फोटोतर्फ प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः ५ हजार, ३ हजार र १ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ भने भिडियो/भ्लगतर्फ प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः १५ हजार, १० हजार र ५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।
प्रतियोगितामा सहभागी हुन इच्छुकले श्रीनाथमण्डली तथा सिरानचोककोट क्षेत्रभित्रका पदमार्ग, ऐतिहासिक तथा पुरातात्विक सम्पदा र लालीगुराँस झल्कने सामग्री गाउँपालिकामा पठाउनुपर्नेछ।
महोत्सव अन्तर्गत वैशाख १ गते नयाँ वर्षको अवसरमा लालीगुराँस दौड प्रतियोगिता समेत आयोजना गरिनेछ। गाउँपालिकाको केन्द्रबाट सुरु हुने उक्त दौड उपल्लोपाम, राम्चे, श्रीनाथमण्डली हुँदै सिरानचोककोटसम्म पुग्नेछ। प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः २० हजार, १० हजार र ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ।
यसैगरी, चैत २६ गतेदेखि वैशाख १ गतेसम्म स्थानीय कृषि उपज तथा घरेलु उत्पादनहरूको प्रदर्शनी तथा बिक्री वितरण कार्यक्रम पनि सञ्चालन गरिनेछ।
महोत्सवले सिरानचोक क्षेत्रको प्राकृतिक सौन्दर्य, विशेषगरी लालीगुराँसको प्रवर्द्धनसँगै आन्तरिक पर्यटन विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ।
-
सेफ गिरी राज भट्ट: संघर्ष, स्वाद र सफलताको प्रेरणादायी यात्रा
-
चल्याे बतास सरर गोरखाको डांडैमा सार्वजनिक, गोरखाका परशुराम थपलियाको नयाँ लोकदोहोरी गीत चर्चामा
-
झम्के रोधी क्लबको चौथो वार्षिकोत्सव आज सम्पन्न हुँदै
-
लोकदोहोरी व्यवसायी संघद्वारा बसपार्कका ६१ दोहोरी साँझलाई सुरक्षा सामग्री हस्तान्तरण
-
रास्वपाको गोरखाका सबै पालिकामा अधिवेशन सम्पन्न, जिल्ला अधिवेशन जेठ २४ मा