गोरखा — उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका–६ सिप्चेतमा नेपाल टेलिकमको फोरजी टावर निर्माणका लागि आवश्यक सामग्री आइपुगेको छ।
नेपाल टेलिकम वायरलेस सेवा निर्देशनालय वबरमहलबाट पठाइएको उक्त सामग्री पाङसिङसम्म गाडीमार्फत ल्याइएपछि बाँकी भाग दुई दिनको पैदल यात्रामार्फत सिप्चेत पुर्याइने गाउँपालिका अध्यक्ष निमा लामाले जानकारी दिनुभयो।
लामाका अनुसार सिप्चेतमा टावर निर्माणका लागि लामो समयदेखि पहल हुँदै आएको थियो। “धेरै पटक निर्देशनालयमा धाएर प्रयास गरेपछि केही महिनाअघि इन्जिनियर टोलीबाट सर्भे भएको थियो, अहिले सामग्री आइपुगेको छ,” उहाँले भन्नुभयो।
सामग्री पुगेसँगै अब टावर निर्माणको काम अघि बढ्ने नेपाल टेलिकमले जनाएको छ। टावर सञ्चालनमा आएपछि चुम्चेत, सिप्चेत, चुम्लिङ र लोक्पा क्षेत्रका बासिन्दा प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ।
हाल चुमनुव्री गाउँपालिकाका जगत, न्याक, छेकम्पार, ल्हो, बिही, सियोडाँडा, सामागाउँ र साम्दो क्षेत्रमा फोरजी टावर सञ्चालनमा रहेका छन्। सिप्चेतमा टावर निर्माण भएपछि चुम उपत्यकाभित्र नेटवर्क विस्तार थप सहज हुने नेपाल टेलिकम गोरखा शाखाले जनाएको छ।
गाउँपालिका अध्यक्ष लामाका अनुसार सिप्चेत टावर निर्माणले सिर्दिवास र सेराङ गुम्बालगायतका क्षेत्रसम्म सेवा विस्तारमा समेत सहयोग पुग्नेछ।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
बेरुजू आउनु भनेको सबै भ्रष्टाचार होइन : आँबुखैरेनी अध्यक्ष चुमान
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण