गोरखा — सिरानचोक गाउँपालिकामा रैथाने खाद्यान्न बालीको प्रदर्शनी सुरु गरिएको छ। प्रथम सिरानचोक लालीगुराँस महोत्सवको अवसर पारेर विहीबारदेखि उक्त प्रदर्शनी आयोजना गरिएको हो।
गाउँपालिकाभित्र उत्पादन हुने विभिन्न रैथाने बालीहरू चित्रेचौर तथा श्रीनाथमण्डली परिसरमा प्रदर्शनमा राखिएका छन्। पालिकाका अनुसार विहीबारदेखि सुरु भएको कृषि प्रदर्शनी वैशाख १ गतेसम्म सञ्चालन हुनेछ।

प्रदर्शनीमा काउनो, सामा, फापर, पाँडे कोदो, जौ, मकै लगायतका बाली राखिएका छन्। साथै कफी, अलैंची, मह, अदुवा, बेसार, केराउ र उखु जस्ता अन्य उत्पादनहरू पनि प्रदर्शन गरिएको छ। हाल वडा नम्बर ७ र ५ मा उत्पादन भएका बालीहरू प्रदर्शनीमा समावेश गरिएको र अन्य वडाबाट पनि उत्पादन थपिँदै जाने क्रम रहेको जनाइएको छ।

महोत्सवकै अवसरमा लालीगुराँस सम्बन्धी फोटो तथा भिडियो प्रतियोगिता पनि सुरु गरिएको छ। फोटो प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेलाईक्रमशः ५ हजार, ३ हजार र १ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ। यस्तै भिडियोतर्फका विजेताले क्रमशः १५ हजार, १० हजार र ५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।
यसैगरी लालीगुराँस पदयात्रा समेत आयोजना गरिनेछ। वैशाख १ गते १० किलोमिटर दौड प्रतियोगिता पनि सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ। दौड प्रतियोगिता गाउँपालिकाको कार्यालयदेखि उपल्लोपास, रान्चे हुँदै श्रीनाथमण्डली भएर सिरानचोककोटसम्म सञ्चालन हुनेछ।
प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः २० हजार, १० हजार र ५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने जनाइएको छ।

-
बेरुजू आउनु भनेको सबै भ्रष्टाचार होइन : आँबुखैरेनी अध्यक्ष चुमान
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण
-
चाँगुनारायणमा स्वास्थ्य संस्था र फार्मेसीको संयुक्त अनुगमन, नियमविपरीत सञ्चालनमा कारबाहीको चेतावनी