logo

आइतबार, जेष्ठ ३१ २०८३

kantipurpationlinetv

२०८३ जेष्ठ ३१ आइतबार

तारकेश्वरका विद्यालय र स्वास्थ्य संस्था आइतवार खोल्न अध्यक्ष अधिकारीको निर्देशन

तारकेश्वरका विद्यालय र स्वास्थ्य संस्था आइतवार खोल्न अध्यक्ष अधिकारीको निर्देशन


  • आइतबार, चैत्र २९ २०८२
  • 2.9K
    SHARES

    तारकेश्वर गाउँपालिका, नुवाकोटले नयाँ शैक्षिक सत्र सुरु हुने सन्दर्भमा शैक्षिक तथा स्वास्थ्य क्षेत्रलाई लक्षित गर्दै औपचारिक निर्देशन जारी गरेको छ। गाउँपालिका अध्यक्ष तथा गाउँ शिक्षा समिति संयोजक शिव अधिकारी अविरलले स्थानीय आवश्यकतालाई मध्यनजर गर्दै उक्त निर्देशन सार्वजनिक गर्नुभएको हो।

    गाउँपालिकाले यसअघि तयार गरेको वार्षिक शैक्षिक क्यालेन्डरबीच संघीय सरकारबाट सातामा दुई दिन बिदा दिने निर्णय आएपछि कार्यतालिकामा आंशिक परिमार्जन गरिएको जनाएको छ। सोअनुसार वैशाख १५ गतेअघि भर्ना कार्यक्रम सञ्चालन गर्न नपाइने भएकाले उक्त अवधिमा विद्यालयहरूले वैकल्पिक शैक्षिक गतिविधि सञ्चालन गर्नेछन्।

    निर्देशनअनुसार वैशाख २ गतेदेखि १५ गतेसम्म ‘बुक फ्री डे’, अतिरिक्त क्रियाकलाप, मनोरञ्जन, मनोपरामर्श, सीप विकास तथा योग–ध्यानसम्बन्धी कार्यक्रम सञ्चालन गरिनेछ। साथै, सोही अवधिमा शिक्षकहरूबीच शैक्षिक योजना निर्माण, सामूहिक छलफल तथा सीप आदानप्रदानका कार्यक्रमसमेत सञ्चालन गरिने व्यवस्था गरिएको छ।

    गाउँपालिकाका अनुसार वैशाख १५ गतेदेखि २१ गतेसम्म भर्ना कार्यक्रम सञ्चालन गरिनेछ भने वैशाख २१ गतेदेखि नियमित पठनपाठन सुरु गरिनेछ। साथै, संघीय सरकारको सातामा दुई दिन विद्यालय बिदा दिने नीतिलाई तत्काल कार्यान्वयन नगर्ने निर्णय गरिएको छ। विद्यार्थीहरूको सिकाइमा असर पर्ने ठहरसहित विद्यालयहरूमा शनिबार मात्र बिदा रहने र आइतबारसमेत पठनपाठन सञ्चालन हुने जनाइएको छ।

    यस्तै, गाउँपालिकाले आफ्नो मातहतका सबै स्वास्थ्य संस्थाहरू आइतबार पनि नियमित रूपमा सञ्चालन गर्न निर्देशन दिएको छ। अध्यक्ष शिव अधिकारी अविरलले सामाजिक सञ्जालमार्फत स्वास्थ्य शाखा प्रमुखसहित सम्पूर्ण स्वास्थ्यकर्मीहरूलाई सेवा सुचारु राख्न निर्देशन दिनुभएको हो। उहाँले सार्वजनिक बिदाका कारण स्वास्थ्य सेवा प्रभावित हुन नदिन यस्तो निर्णय गरिएको स्पष्ट पार्नुभएको छ।

    अध्यक्ष अधिकारीका अनुसार संघीय सरकारले इन्धन खपत न्यूनीकरणका लागि सातामा दुई दिन सार्वजनिक बिदा दिने नीति अवलम्बन गरे पनि स्थानीय तहमा त्यसको प्रत्यक्ष प्रभावका कारण स्वास्थ्य सेवा अवरुद्ध हुन नदिन आवश्यक व्यवस्था गरिएको हो। उहाँले उक्त निर्णय सरकारको नीति उल्लंघन नभई नागरिकलाई निरन्तर स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले गरिएको बताउनुभयो।

    विद्यालय र स्वास्थ्य संस्थाबाहेक अन्य कार्यालयहरू भने संघीय सरकारको नीति अनुसार सातामा दुई दिन (शनिबार र आइतबार) बन्द रहनेछन्। ती कार्यालयहरू बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म सञ्चालन हुने जनाइएको छ।

    निर्देशनहरूको प्रभावकारी कार्यान्वयनका लागि शिक्षा शाखा, सम्बन्धित विद्यालयका प्रधानाध्यापक तथा गाउँ प्रहरीलाई अनुगमनको जिम्मेवारी दिइएको गाउँपालिकाले जनाएको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page