काठमाडौं — काठमाडौको सामाखुसीस्थित सिटी स्क्वायर मलको छैटौं तलामा रहेको ‘ग्राण्ड एम्बास्डर बिजनेस होटल’ भव्य रूपमा उद्घाटन गरिएको छ।
होटलको उद्घाटन जगत गुरु त्रिदण्डि यतिराज जिएर स्वामी श्री हिमालय बाबा जगन्नाथज्यूले धार्मिक एवं सांस्कृतिक विधिअनुसार गरेका हुन्। उद्घाटन कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्व, व्यवसायी, समाजसेवी तथा स्थानीयको उल्लेखनीय उपस्थिति रहेको थियो।
धार्मिक मन्त्रोच्चारण, पूजाआजा तथा शुभकामना आदानप्रदानसहित सम्पन्न कार्यक्रममा सहभागीहरूले सामाखुसी क्षेत्रमा पर्यटन तथा आतिथ्य क्षेत्रको विकासमा यस होटलले नयाँ आयाम थप्ने विश्वास व्यक्त गरेका थिए।
२४ वटा अत्याधुनिक तथा सुविधासम्पन्न कोठासहित सञ्चालनमा आएको होटलले पारिवारिक वातावरणमा गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्य लिएको छ। होटलमा लक्जरियस सुइट्स, स्पा, फिटनेस सेन्टर, प्रिमियम डाइनिङ, विद्युतीय सवारी साधनका लागि चार्जिङ सुविधा तथा काठमाडौं उपत्यका र हिमालको ३६० डिग्री दृश्य अवलोकन गर्न सकिने व्यवस्था गरिएको छ।
होटल व्यवस्थापनका अनुसार आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गर्दै आधुनिक सुविधा र नेपाली आतिथ्य संस्कृतिको समिश्रण प्रस्तुत गरिएको छ। विशेषगरी नेपाली, चाइनिज र भारतीय परिकारलाई प्राथमिकताका साथ उपलब्ध गराइने जनाइएको छ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै जगत गुरु त्रिदण्डि यतिराज जिएर स्वामी श्री हिमालय बाबा जगन्नाथज्यूले व्यवसायलाई नाफासँग मात्र सीमित नगरी समाजसेवा र संस्कृतिसँग जोड्नुपर्ने बताए। उनले आतिथ्य सेवा आत्मीयता, सद्भाव र सम्मानमा आधारित हुने उल्लेख गर्दै यस्तो संस्थाले समाजमा सकारात्मक सन्देश दिने धारणा व्यक्त गरे।
होटलका सञ्चालक कमल ढकालले होटललाई केवल व्यवसायिक केन्द्र नभई पारिवारिक अनुभव दिने गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य रहेको बताए। उनले अतिथिलाई सुरक्षित, शान्त र आत्मीय वातावरणमा गुणस्तरीय सेवा प्रदान गरिने उल्लेख गरे।
त्यस्तै, होटलका जनरल म्यानेजर सुशील थापाले अन्तर्राष्ट्रियस्तरको सेवा र नेपाली आतिथ्य संस्कृतिको संयोजनमार्फत पाहुनालाई स्मरणीय अनुभव प्रदान गर्ने लक्ष्य रहेको बताए। उनले आगामी दिनमा होटललाई काठमाडौंको उत्कृष्ट बिजनेस तथा फ्यामिली होटलका रूपमा स्थापित गर्ने योजना रहेको जानकारी दिए।
सिटी स्क्वायर मलको छैटौं तलामा अवस्थित यस होटलबाट काठमाडौं शहर र हिमालको मनोरम दृश्य अवलोकन गर्न सकिने भएकाले आगन्तुकका लागि आकर्षणको केन्द्र बन्ने अपेक्षा गरिएको छ।
आधुनिक सेवा, पारिवारिक वातावरण र सुविधासम्पन्न व्यवस्थापनका कारण ‘ग्राण्ड एम्बास्डर बिजनेस होटल’ सामाखुसी क्षेत्रकै नयाँ आकर्षणका रूपमा स्थापित हुने विश्वास गरिएको छ।
-
चल्याे बतास सरर गोरखाको डांडैमा सार्वजनिक, गोरखाका परशुराम थपलियाको नयाँ लोकदोहोरी गीत चर्चामा
-
सेफ गिरी राज भट्ट: संघर्ष, स्वाद र सफलताको प्रेरणादायी यात्रा
-
झम्के रोधी क्लबको चौथो वार्षिकोत्सव आज सम्पन्न हुँदै
-
चिरायु डेन्ट केयरका सञ्चालक सागर जोशी विशेष सम्मानित
-
लोकदोहोरी व्यवसायी संघद्वारा बसपार्कका ६१ दोहोरी साँझलाई सुरक्षा सामग्री हस्तान्तरण