logo

शनिबार, जेष्ठ ३० २०८३

kantipurpationlinetv

२०८३ जेष्ठ ३० शनिबार

गोरखामा ‘गोरखा’ ब्रान्डको पानी उत्पादन सुरु

गोरखामा ‘गोरखा’ ब्रान्डको पानी उत्पादन सुरु


  • मंगलबार, बैशाख २२ २०८३
  • 2.3K
    SHARES

    गोरखा — अब गोरखामा आफ्नै ब्रान्डको पिउने पानी प्रयोग गर्न पाइने भएको छ। गोरखा र आसपासका जिल्लालाई लक्षित गर्दै गोरखा बोटलर्स प्रालिले ‘गोरखा’ नामको पानी उत्पादन सुरु गरेको हो।

    गोरखा नगरपालिका–६ आयुर्वेदिक चोक नजिक (पहिले हिमाली चलचित्र हल सञ्चालन भएको स्थान) उद्योग स्थापना गरी सोमबार एक कार्यक्रमका बीच औपचारिक रूपमा सञ्चालनमा ल्याइएको हो।

    उद्योग सञ्चालक तथा गोरखा चेम्बर अफ कमर्सका अध्यक्ष रामस्वरूप श्रेष्ठका अनुसार करिब डेढ करोड रुपैयाँको लगानीमा उद्योग सञ्चालनमा ल्याइएको हो। उनले पुरानो चलचित्र हल रहेको भवन भत्काएर पानी उद्योग स्थापना गरिएको जानकारी दिए।

    दुई रोपनी दश आना क्षेत्रफलमा फैलिएको उद्योगमा डिप बोरिङमार्फत पानी निकालिएको छ, जसबाट प्रतिघण्टा करिब ९ हजार लिटर पानी उत्पादन हुने जनाइएको छ। डिप बोरिङबाट आएको पानी विभिन्न ट्याङ्की तथा पाँच चरणको फिल्टर प्रणाली हुँदै प्रशोधन गरी बोतल र जारमा भर्ने व्यवस्था गरिएको छ।

    उद्योगले आफ्नै बोतल उत्पादनसमेत गर्ने जनाएको छ। हाल उद्योगमा प्रतिघण्टा करिब १ हजार ८ सय लिटर पानी उत्पादन क्षमता रहेको छ भने एक लिटर बोतल पानीको मूल्य २० रुपैयाँ निर्धारण गरिएको छ।

    सञ्चालक श्रेष्ठका अनुसार स्थानीयस्तरमै शुद्ध र गुणस्तरीय पिउने पानी उपलब्ध गराउने उद्देश्यले उद्योग सञ्चालनमा ल्याइएको हो। खाद्य प्रविधि विभाग पोखराबाट गुणस्तर परीक्षण र अनुमति प्राप्त भएपछि मात्र उत्पादन सुरु गरिएको उनले जानकारी दिए।

    हाल उद्योगमा ६ जना कर्मचारी कार्यरत रहेका छन्।

    गोरखा केन्द्रित उत्पादन भए पनि आगामी दिनमा बजार विस्तार गर्ने योजना रहेको कम्पनीले जनाएको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page