logo

शनिबार, जेष्ठ ३० २०८३

kantipurpationlinetv

२०८३ जेष्ठ ३० शनिबार

सामागाउँमा मनाइयो मनास्लुको ७०औँ आरोहण दिवस

सामागाउँमा मनाइयो मनास्लुको ७०औँ आरोहण दिवस


  • बिहिबार, बैशाख ३१ २०८३
  • 2K
    SHARES

    गोरखा: मनास्लु हिमालको पहिलो सफल आरोहण भएको ७० वर्ष पुगेको अवसरमा चुमनुब्री गाउँपालिकाको सामागाउँमा ‘मनास्लु प्लाटिनम जुबिली उत्सव’ भव्य रूपमा मनाइएको छ।

    सन् १९५६ मा जापानी पर्वतारोही तोशियो इमानिशी र नेपाली आरोही उर्केन छिरिङ शेर्पा ले विश्वको आठौँ अग्लो हिमाल मनास्लुको पहिलो सफल आरोहण गरेका थिए।

    उत्सवको पहिलो दिन वैशाख २६ (मे ९) मा प्रथम आरोहीहरूको सम्झनामा निर्मित सालिक अनावरण गरिएको थियो। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेका अनुसार सो अवसरमा प्रथम आरोही तोशियो इमानिशीका छोरा कुनिओ इमानिसी र उर्केन छिरिङ शेर्पाका छोरा छिटी शेर्पालाई विशेष सम्मान गरिएको थियो।

    यसैगरी, हिमाली क्षेत्रको विकास तथा प्रवर्द्धनमा योगदान पुर्‍याउने लामाहरू पासाङ दोर्जे र जिम्मे लामा, सफल आरोहीहरू मिङमार छिरिङ लामा, नाङ्साल छोडेन लामा, दिकी लामा लगायत विभिन्न संघसंस्था तथा व्यक्तित्वहरूलाई पनि सम्मान गरिएको थियो।

    गाउँपालिका अध्यक्ष निमा लामाले मनास्लु दिवसको महत्वबारे प्रकाश पार्दै यस उत्सवले मनास्लुलाई विश्व पर्यटन बजारमा थप उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरे। उनले मनास्लु हिमाललाई संस्कृति, सम्पदा र सम्भावनाको प्रतीकका रूपमा उल्लेख गर्दै यसलाई विश्वकै उत्कृष्ट पर्यटन गन्तव्य बनाउने लक्ष्य रहेको बताए।

    गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा स्थानीय बासिन्दा तथा विद्यार्थीहरूले परम्परागत सांस्कृतिक झाँकी र नृत्य प्रस्तुत गरेका थिए। कार्यक्रममा मन्त्री नन्दप्रसाद न्यौपाने, जापानी राजदूतावासका अधिकारी, पर्यटन विभागका महानिर्देशक तथा पर्वतारोहण क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

    उत्सवको दोस्रो दिन वैशाख २७ (मे १०) मा अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय मा मनास्लुको थ्री–डी मोडल उद्घाटन गर्ने तथा सन् १९५६ को ऐतिहासिक आरोहणसँग सम्बन्धित दुर्लभ तस्बिर र वृत्तचित्र प्रदर्शन गर्ने कार्यक्रम रहेको छ।

    ८,१६३ मिटर अग्लो मनास्लु हिमाल नेपालको सातौँ अग्लो हिमाल हो। नेपाल पर्यटन बोर्ड, नेपाल पर्वतारोहण संघ, एमक्याप तथा चुमनुब्री गाउँपालिकाको संयुक्त आयोजनामा सम्पन्न उक्त महोत्सवले मनास्लुको ऐतिहासिक तथा प्राकृतिक गरिमालाई अन्तर्राष्ट्रिय स्तरमा पुनः उजागर गरेको आयोजकले जनाएको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page