गोरखा — बारपाक सुलिकोट गाउँपालिका–४, हुँडीफाँटमा १५ शैयाको सुविधासम्पन्न आधारभूत अस्पताल सञ्चालनमा आएको छ। नवनिर्मित ५५ कोठे अस्पताल भवनको उद्घाटनसँगै शुक्रबारदेखि स्वास्थ्य सेवा औपचारिक रूपमा सुरु गरिएको हो।
अस्पतालको उद्घाटन गाउँपालिका अध्यक्ष विष्णु भट्टले गर्नुभएको हो। पालिकास्तरीय अस्पताल भवनको निर्माण २०७८ असार १३ गते सुरु भई २०८२ पुस २८ गते सम्पन्न भएको गाउँपालिकाले जनाएको छ।
करिब १३ करोड ५७ लाख ४५ हजार रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको उक्त अस्पतालमा आवश्यक उपकरण तथा जनशक्ति व्यवस्थापन गरेर सेवा प्रारम्भ गरिएको प्रमुख प्रशासकीय अधिकृत सुवास आलेले जानकारी दिनुभयो।
अस्पतालमा हाल ३० जना स्वास्थ्यकर्मीको व्यवस्थापन गरिएको छ। केही उपकरणहरू आइसकेका छन् भने करिब १ करोड ७० लाख रुपैयाँ बराबरका थप उपकरण खरिद प्रक्रियामा रहेको गाउँपालिकाले जनाएको छ।
कार्यपालिका बैठकको निर्णयअनुसार अस्पतालको नाम ‘शहीद प्रेम ढकाल स्मृति आधारभूत अस्पताल’ राखिएको हो। अस्पतालबाट दन्त, आँखा, प्रसूति, परिवार नियोजन, पोषण तथा हाडजोर्नी लगायतका सेवा प्रदान गरिनेछ।
यसैगरी, निक साइमन्स इन्स्टिच्युटसँग भएको सम्झौता अनुसार आगामी पाँच वर्षसम्म जनशक्ति तथा प्राविधिक सहयोग उपलब्ध हुने भएको छ। इन्स्टिच्युटले २०८३ साउन १ गतेदेखि २०८८ असार ३० गतेसम्म अस्पतालमा जनशक्ति र प्राविधिक सेवा प्रदान गर्नेछ।
अस्पताल सञ्चालनसँगै बारपाक सुलिकोट गाउँपालिकाका आठवटै वडा, अजिरकोट गाउँपालिकाका वडा नं. २ र ३ तथा धार्चे गाउँपालिकाको लाप्राक–गुम्दा क्षेत्रका स्थानीय लाभान्वित हुने अपेक्षा गरिएको छ।
यसअघि आकस्मिक तथा जटिल उपचारका लागि गोरखा बजार वा चितवनसम्म पुग्नुपर्ने बाध्यता रहेकोमा अब स्थानीयस्तरमै सहज स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास व्यक्त गरिएको छ।



-
चल्याे बतास सरर गोरखाको डांडैमा सार्वजनिक, गोरखाका परशुराम थपलियाको नयाँ लोकदोहोरी गीत चर्चामा
-
सेफ गिरी राज भट्ट: संघर्ष, स्वाद र सफलताको प्रेरणादायी यात्रा
-
चिरायु डेन्ट केयरका सञ्चालक सागर जोशी विशेष सम्मानित
-
झम्के रोधी क्लबको चौथो वार्षिकोत्सव आज सम्पन्न हुँदै
-
लोकदोहोरी व्यवसायी संघद्वारा बसपार्कका ६१ दोहोरी साँझलाई सुरक्षा सामग्री हस्तान्तरण