काठमाडौं: काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले राष्ट्रपति कार्यालय शीतल निवासबाट चोरी भएका हात्तीका दाह्रा प्रकरणमा संलग्न रहेको आरोपमा ५ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा गोरखाका २ युवकसहित काठमाडौं र बैतडीका व्यक्तिहरू रहेका छन्।
प्रहरीका अनुसार जेन–जी आन्दोलनका क्रममा शीतल निवासमा तोडफोड हुँदा भित्तामा सजाएर राखिएका हात्तीका दाह्रा चोरी गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो। पक्राउ पर्नेहरूमा तार्केश्वर–९ मनमैजुका २५ वर्षीय राजिव महर्जन, गोरखा धार्चे गाउँपालिका–४ लाप्राकका २६ वर्षीय टेकप्रसाद गुरुङ, काठमाडौं महानगरपालिका–१७ का २७ वर्षीय आयुष महर्जन, बैतडी डिलासैनी गाउँपालिका–३ का २४ वर्षीय पुरन बोहरा तथा गोरखा अजिरकोट गाउँपालिका–४ का २० वर्षीय सन्तबहादुर भुजेल रहेका छन्।
प्रहरीले विशेष सूचनाका आधारमा मनमैजु क्षेत्रमा छापा मार्ने क्रममा राजिव महर्जनको घर नजिक खाली जग्गामा गाडिएको अवस्थामा २ वटा हात्तीका दाह्रा बरामद गरेको जनाएको छ। अनुसन्धानका क्रममा अन्य व्यक्तिहरूको समेत संलग्नता खुलेपछि थप पक्राउ गरिएको प्रहरीले जनाएको छ।
यस्तै, राजिव महर्जनको कोठाबाट ‘Tramadol-50’ नामक लागुऔषधका १५० क्याप्सुल बरामद भएको प्रहरीले जनाएको छ भने सन्तबहादुर भुजेलको कोठाबाट थप २ वटा हात्तीका दाह्रा फेला परेको बताइएको छ।
घटनामा संलग्न व्यक्तिहरूमाथि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ तथा लागुऔषध नियन्त्रण ऐन, २०३३ अन्तर्गत थप अनुसन्धान तथा कानुनी कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
-
बेरुजू आउनु भनेको सबै भ्रष्टाचार होइन : आँबुखैरेनी अध्यक्ष चुमान
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण
-
चाँगुनारायणमा स्वास्थ्य संस्था र फार्मेसीको संयुक्त अनुगमन, नियमविपरीत सञ्चालनमा कारबाहीको चेतावनी
-
प्राङ्गारिक मलको प्रयोग बढाउन कृषिमन्त्री किसानको खेतमै