logo

शुक्रबार, जेष्ठ २९ २०८३

kantipurpationlinetv

२०८३ जेष्ठ २९ शुक्रबार

पालुङटार नगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक, उत्पादन, रोजगारी र सुशासनमा जोड

पालुङटार नगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक, उत्पादन, रोजगारी र सुशासनमा जोड


  • बुधबार, जेष्ठ २० २०८३
  • 2.1K
    SHARES

    गोरखा: पालुङटार नगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि उत्पादन, रोजगारी, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन तथा सुशासनलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।

    नगर प्रमुख विवश चिन्तनले १९ औँ नगरसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा “समाजवादको आधार निर्माणको अभियान, सुन्दर र समृद्ध पालुङटार हाम्रो शान” भन्ने नारालाई केन्द्रमा राखिएको छ।

    नगरपालिकाले आगामी वर्षका लागि निःशुल्क तथा अनिवार्य शिक्षा, गुणस्तरीय आधारभूत स्वास्थ्य सेवा, दिगो पूर्वाधार विकास, कृषि उत्पादन वृद्धि, स्थानीय कच्चा पदार्थमा आधारित उद्योग प्रवर्द्धन, पर्यटन विकास, उद्यमशीलता, वातावरण संरक्षण तथा प्रविधिमैत्री सुशासनलाई मुख्य प्राथमिकताका रूपमा अघि सारेको छ।

    कृषि क्षेत्रमा पालुङटार बहुउद्देश्यीय कृषि प्रवर्द्धन कार्यक्रमलाई नगर गौरवको आयोजनाका रूपमा निरन्तरता दिइने भएको छ। कृषक परिचयपत्र वितरण, कृषि हाटबजार सञ्चालन, कृषि एम्बुलेन्स सेवा विस्तार, सिँचाइ सुविधा विस्तार तथा वास्तविक किसानलाई उत्पादनका आधारमा अनुदान उपलब्ध गराउने नीति लिइएको छ।

    रोजगारी र उद्यमशीलता प्रवर्द्धनका लागि सीपमूलक तालिम सञ्चालन, वैदेशिक रोजगारीबाट फर्किएका युवालाई स्वदेशमै उद्यम गर्न प्रोत्साहन तथा साना उद्योग दर्ता प्रक्रिया सहज बनाउने कार्यक्रम समावेश गरिएको छ।

    पर्यटन क्षेत्रमा लिगलिगकोट, मिर्कोटगढी, तातोपानी, चेपेघाटलगायत ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक स्थलहरूको संरक्षण, प्रवर्द्धन र प्रचारप्रसारका लागि एकीकृत कार्यक्रम सञ्चालन गरिने भएको छ। साथै पर्यटन पूर्वाधार निर्माण र व्यवसायीहरूको क्षमता विकासलाई पनि प्राथमिकता दिइएको छ।

    शिक्षा क्षेत्रमा स्थानीय पाठ्यक्रम परिमार्जन, बालमैत्री सिकाइ वातावरण, निःशुल्क आधारभूत तथा माध्यमिक शिक्षा, विद्यार्थी बीमा, दिवा खाजा कार्यक्रम तथा प्रविधिमैत्री शिक्षालाई निरन्तरता दिइने नीति लिइएको छ।

    स्वास्थ्यतर्फ आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तार, मातृ तथा शिशु स्वास्थ्य सुधार, निःशुल्क औषधि उपलब्धता, ज्येष्ठ नागरिकको घरमै स्वास्थ्य परीक्षण तथा घुम्ती स्वास्थ्य शिविर सञ्चालन गर्ने कार्यक्रम समावेश गरिएको छ।

    नगरपालिकाले प्रविधिको प्रयोगमार्फत सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने, डिजिटल प्रणाली विस्तार गर्ने तथा पारदर्शिता र जवाफदेहितालाई सुदृढ गर्दै सुशासन प्रवर्द्धन गर्ने प्रतिबद्धता जनाएको छ।

    नगर प्रमुख विवश चिन्तनले सीमित स्रोतसाधनका बाबजुद उत्पादनमुखी अर्थतन्त्र, सामाजिक न्याय, रोजगारी सिर्जना र नागरिकमैत्री सेवा प्रवाहमार्फत समृद्ध पालुङटार निर्माण अभियान अघि बढाइने बताएका छन्।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page