गोरखा — उत्तरी गोरखाको धार्चे गाउँपालिकाले प्रशासकीय भवन निर्माणको काम अलपत्र पार्ने ठेकेदार कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया सुरु गरेको छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्धिराम बस्नेतका अनुसार भवन निर्माणको जिम्मा लिएको चितवनस्थित बिकोई हेमन्त जेभीले पटक–पटक म्याद थप हुँदासमेत निर्माण कार्य अघि नबढाएपछि कानुनी प्रक्रिया अघि बढाइएको हो।
२०७८ वैशाख ५ गते सम्झौता भएको उक्त भवन २०७९ माघ २९ गतेभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहे पनि हालसम्म तीन पटक म्याद थप भइसकेको छ। पहिलो पटक २०८० फागुन २९ गतेसम्म, दोस्रो पटक २०८१ माघ २९ गतेसम्म र तेस्रो पटक २०८२ माघ २९ गतेसम्म म्याद थप गरिएको थियो। तर, पछिल्लो म्याद सकिँदासमेत निर्माण कार्यमा उल्लेखनीय प्रगति नभएको गाउँपालिकाले जनाएको छ।
प्रमुख प्रशासकीय अधिकृत बस्नेतका अनुसार डेढ वर्षदेखि ठेकेदार कम्पनीका प्रतिनिधि तथा कामदार निर्माण स्थलमा नआएको र विभिन्न बाहाना बनाएर काम आलटाल गर्दै आएको आरोप छ। गाउँपालिकाले भौगोलिक विकटता र हिउँको समस्यालाई देखाउँदै काम नगर्ने प्रवृत्ति अस्वीकार्य भएको जनाएको छ।
गाउँपालिकाले ठेकेदार कम्पनीलाई १५ दिनभित्र निर्माण कार्य सम्पन्न गर्न नसक्नुको कारणसहित उपस्थित हुन निर्देशन दिएको छ। साथै, कार्य सम्पन्न गर्न सकिने भए स्पष्ट कार्यतालिका, स्रोत परिचालन योजना र लिखित प्रतिबद्धता पेश गर्न भनिएको छ।
निर्धारित समयभित्र उपस्थित नभए सार्वजनिक खरिद ऐनअनुसार ठेक्का तोडेर कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाइने गाउँपालिकाले जनाएको छ। साथै कार्यसम्पादन जमानत, धरौटी तथा पेश्की रकमको ब्याजसहित असुलउपर गर्ने तयारी समेत गरिएको छ।
गाउँपालिकाका अनुसार हालसम्म भवन निर्माणको भौतिक तथा आर्थिक प्रगति करिब ५० प्रतिशत मात्रै पुगेको छ।
-
बेरुजू आउनु भनेको सबै भ्रष्टाचार होइन : आँबुखैरेनी अध्यक्ष चुमान
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण
-
चाँगुनारायणमा स्वास्थ्य संस्था र फार्मेसीको संयुक्त अनुगमन, नियमविपरीत सञ्चालनमा कारबाहीको चेतावनी