लमजुङ — लमजुङबाट प्रकाशित एकमात्र दैनिक पत्रिका लमजुङ दर्पण दैनिकको १३औँ स्थापना दिवसका अवसरमा बेंसीशहरमा दुईदिने पत्रकारिता तालिम सुरु भएको छ।
“नवपुस्ताको सशक्तीकरणका लागि सामाजिक सञ्जालको प्रभावकारी उपयोग, कन्टेन्ट सिर्जना तथा मल्टिमिडिया” विषयक उक्त तालिम शुक्रबारदेखि सुरु भएको हो। तालिममा विद्यार्थी तथा पत्रकारितामा रुचि राख्ने युवायुवतीहरूको सहभागिता रहेको आयोजकले जनाएको छ।
उद्घाटन कार्यक्रममा बोल्दै जिल्ला न्यायाधीश शिशिरराज ढकालले सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै तथ्यपरक, जिम्मेवार तथा विश्वसनीय सामग्री उत्पादनको आवश्यकता बढ्दै गएको बताउँदै पत्रकारिताले सत्य, निष्पक्षता र उत्तरदायित्वलाई आत्मसात् गर्नुपर्नेमा जोड दिए।
त्यसैगरी प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनालले सूचना प्रविधिको युगमा सामाजिक सञ्जालको सकारात्मक उपयोगले समाज रूपान्तरण र जनचेतना अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने उल्लेख गर्दै युवापुस्तालाई सिर्जनशील तथा तथ्यमा आधारित सामग्री निर्माणमा सक्रिय हुन आग्रह गरे।
कार्यक्रममा पूर्व सांसद मायानाथ अधिकारी, नेपाल पत्रकार महासंघ लमजुङ शाखाका अध्यक्ष सन्देश पौडेल, लमजुङ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष विकास श्रेष्ठ, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश सदस्य जनक श्रेष्ठ तथा महासंघ लमजुङ शाखाका पूर्व अध्यक्ष आश गुरुङलगायतले डिजिटल युगमा पत्रकारिता थप जिम्मेवार, विश्वसनीय र प्रविधिमैत्री हुनुपर्नेमा जोड दिएका थिए।
तालिममा समाचार लेखन, डिजिटल कन्टेन्ट निर्माण, भिडियो तथा फोटो प्रस्तुतीकरण, तथा सामाजिक सञ्जाल व्यवस्थापनसम्बन्धी प्रशिक्षण दिइने आयोजकले जनाएको छ। डिजिटल पत्रकारिता र नयाँ पुस्ताको सञ्चार दक्षता विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
उद्घाटन समारोहमा डिजिटल सञ्चारकर्मी रविन्द्र परियारलाई लमजुङको कला, संस्कृति तथा पर्यटन प्रवर्द्धनमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको छ। उनलाई सम्मानपत्रसहित नगद रु. २ हजार प्रदान गरिएको थियो।
शनिबारसम्म सञ्चालन हुने तालिमबाट सहभागीहरूले आधुनिक सञ्चार माध्यम र पत्रकारिताका नवीन अभ्यासबारे व्यावहारिक ज्ञान प्राप्त गर्ने अपेक्षा गरिएको छ।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
लियो क्लब अफ आबुँखैरेनी सिटीको नयाँ कार्यसमिति चयन, अध्यक्षमा मनोज बास्तोला
-
राति ११ बजेपछि व्यवसाय बन्द गर्ने निर्णय फिर्ता लिन रात्रिकालीन व्यवसायीको माग
-
चाँगुनारायणमा स्वास्थ्य संस्था र फार्मेसीको संयुक्त अनुगमन, नियमविपरीत सञ्चालनमा कारबाहीको चेतावनी