logo

बिहिबार, असार ४ २०८३

kantipurpationlinetv

२०८३ असार ४ बिहिबार

मनसुनजन्य विपद् व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेका छौँ : गृहमन्त्री गुरुङ

मनसुनजन्य विपद् व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेका छौँ : गृहमन्त्री गुरुङ


  • बिहिबार, असार ४ २०८३
  • 3.6K
    SHARES

    काठमाडौं । गृहमन्त्री सुधन गुरुङले मनसुनजन्य विपद् व्यवस्थापनलाई सरकारले उच्च प्राथमिकतामा राखेर तयारी गरिरहेको बताउनुभएको छ।

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आयोजना गरेको मनसुन पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले बाढी, पहिरो लगायतका प्राकृतिक विपद्बाट नागरिकको सुरक्षा सुनिश्चित गर्न आवश्यक सबै स्रोतसाधन परिचालन गरिने बताउनुभयो।

    गृहमन्त्री गुरुङले विपद् व्यवस्थापनका लागि सुरक्षा निकायहरू परिचालन गरिसकिएको जानकारी दिँदै औपचारिक निरीक्षणभन्दा पनि नागरिकको प्रत्यक्ष सुरक्षा, उद्धार र राहतलाई केन्द्रमा राखेर काम गर्ने बताउनुभयो।

    उहाँका अनुसार सम्भावित विपद्का अवस्थामा तत्काल परिचालन हुन सक्ने गरी आवश्यक संयन्त्र निर्माण गरिएको छ। अघिल्ला सरकारले गरेका सकारात्मक कामलाई निरन्तरता दिँदै कमजोरी सुधार गरेर प्रभावकारी ढंगले अघि बढ्ने सरकारको नीति रहेको उहाँले बताउनुभयो।

    मनसुनका बेला पूर्व–पश्चिम राजमार्ग लगायत निर्माणाधीन सडक खण्डमा बाढी र पहिरोका कारण यातायात अवरुद्ध हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै गृह मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग समन्वय गरिरहेको उहाँले जानकारी दिनुभयो।

    सडक अवरोध हटाउन आवश्यक डोजर तथा उपकरणको अवस्थाबारे जानकारी दिने विशेष डिजिटल प्रणाली (एप) तयार गरिएको बताउँदै उहाँले पहिरो वा सडक अवरोध भएको स्थानमा नजिकै रहेको उपकरण तत्काल परिचालन गरी सडक खुलाउने व्यवस्था मिलाइएको बताउनुभयो।

    यसबाट विगतमा जस्तो यात्रुहरू लामो समयसम्म सडकमा अलपत्र पर्नुपर्ने अवस्था कम हुने उहाँको भनाइ छ।

    गृहमन्त्री गुरुङले प्रहरी तथा अन्य सुरक्षा निकायलाई नागरिकमैत्री सेवा दिन निर्देशन दिएको पनि जानकारी दिनुभयो। अपराध नियन्त्रण, सुशासन प्रवर्द्धन र सेवाको गुणस्तर सुधारमा कुनै सम्झौता नगर्ने उहाँले बताउनुभयो।

    सुरक्षा निकायभित्र कार्यसम्पादनका आधारमा मूल्याङ्कन र पदोन्नति गर्ने नीति अघि बढाइएको उल्लेख गर्दै उहाँले राजनीतिक दबाब वा पहुँचका आधारमा पदोन्नति हुने प्रवृत्ति अन्त्य गरिने दाबी गर्नुभयो।

    नागरिकको सुरक्षा, विपद् प्रतिकार्य र प्रभावकारी सेवा प्रवाहलाई केन्द्रमा राखेर गृह मन्त्रालय अघि बढ्ने गृहमन्त्री गुरुङको भनाइ छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page