logo

बुधबार, असार १० २०८३

kantipurpationlinetv

२०८३ असार १० बुधबार

सिरानचोक गाउँपालिकाले ल्यायो ६६ करोड ३१ लाखको बजेट, नगर प्रहरी भर्नादेखि ‘एक घर एक धारा’ अभियानलाई प्राथमिकता

सिरानचोक गाउँपालिकाले ल्यायो ६६ करोड ३१ लाखको बजेट, नगर प्रहरी भर्नादेखि ‘एक घर एक धारा’ अभियानलाई प्राथमिकता


  • बुधबार, असार १० २०८३
  • 2.5K
    SHARES

    गोरखा । सिरानचोक गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ६६ करोड ३१ लाख ९३ हजार ७१६ रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

    गाउँसभाको १८औँ अधिवेशनको पहिलो बैठकमा उपाध्यक्ष रीता देवकोटाले प्रस्तुत गरेको बजेट तथा कार्यक्रम गाउँसभाबाट पारित भएको हो। अधिवेशनले वार्षिक नीति तथा कार्यक्रम, राजस्व तथा व्ययको अनुमान, विनियोजन विधेयक–२०८३, आर्थिक विधेयक–२०८३ तथा सार्वजनिक सम्पत्ति संरक्षण तथा व्यवस्थापनसम्बन्धी विधेयक–२०८३ समेत पारित गरेको छ।

    गाउँपालिकाले संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण, सशर्त, समपूरक र विशेष अनुदान, राजस्व बाँडफाँड तथा आन्तरिक स्रोतलाई आधार बनाएर आगामी वर्षको बजेट निर्माण गरेको जनाएको छ। कुल बजेटमध्ये आन्तरिक राजस्वबाट २ करोड १५ लाख रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको छ।

    बजेटमा कर्मचारी, शिक्षक तथा स्वास्थ्यकर्मीको तलब तथा प्रशासनिक खर्चका लागि ३३ करोड ३५ लाख ३० हजार रुपैयाँभन्दा बढी विनियोजन गरिएको छ। यस्तै विषयगत क्षेत्रका योजना तथा कार्यक्रमका लागि ११ करोड ६९ लाख रुपैयाँ, वडास्तरीय योजनाका लागि ४ करोड ५१ लाख रुपैयाँ तथा गाउँपालिकाका गौरवका आयोजना र प्रशासनिक भवन निर्माणका लागि ६ करोड ८६ लाख रुपैयाँ विनियोजन गरिएको छ।

    गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र गुरुङले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा ‘समृद्ध ऐतिहासिक सिरानचोकको शान : दिगो विकासको अभियान’ भन्ने मूल नारालाई केन्द्रमा राखिएको छ। दिगो आर्थिक वृद्धि, गरिबी न्यूनीकरण, रोजगारी सिर्जना, सामाजिक समावेशीकरण तथा गुणस्तरीय पूर्वाधार विकासलाई आगामी वर्षको प्रमुख प्राथमिकतामा राखिएको गाउँपालिकाले जनाएको छ।

    कृषि तथा पशुपालन क्षेत्रलाई उत्पादनमुखी बनाउने लक्ष्यसहित कृषक वर्गीकरण गरी परिचयपत्र वितरण, उत्पादनमा आधारित अनुदान, ‘एक वडा दुई कृषि स्रोत केन्द्र’ तथा ‘एक वडा एक पकेट कार्यक्रम’ सञ्चालन गरिने भएको छ। गाउँपालिकाले दूध, मासु र अण्डामा आत्मनिर्भरता हासिल गर्ने लक्ष्यसमेत लिएको छ।

    सहकारी तथा उद्यमशीलता प्रवर्द्धनका लागि सहकारी संस्थालाई कोपोमिस प्रणालीमा आबद्ध गरिने, स्थानीय उत्पादनको ब्रान्डिङ तथा प्याकेजिङमा सहयोग गरिने र ‘एक वडा एक उद्यम’ कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।

    पर्यटन क्षेत्रअन्तर्गत सिरानचोककोट र श्रीनाथमण्डली क्षेत्रको संरक्षण तथा प्रवर्द्धन गरिने भएको छ। साथै ‘सिरानचोक कोट म्याराथुन’ र ‘लालिगुराँस महोत्सव’ आयोजना गरी आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गरिने गाउँपालिकाले जनाएको छ।

    स्वास्थ्यतर्फ ग्रामीण घुम्ती स्वास्थ्य शिविर, टेलिहेल्थ तथा भर्चुअल हेल्थ सपोर्ट कार्यक्रम सञ्चालन गरिनेछ भने सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका कोष स्थापना गरिने भएको छ। शिक्षा क्षेत्रमा ‘हामी सुधार्छौं हाम्रो विद्यालय’ अभियान सञ्चालन गरिनुका साथै विद्यालय समायोजन, दरबन्दी मिलान तथा विद्यार्थी, शिक्षक र कर्मचारीका लागि दुर्घटना बीमा कार्यक्रम लागू गरिने भएको छ।

    पूर्वाधार विकासतर्फ ‘हाम्रो बाटो हामी बनाउँछौं’ अभियान सञ्चालन गरिने तथा प्रत्येक सडक आयोजनाको २ प्रतिशत बजेट बायो–इन्जिनियरिङ र वृक्षारोपणमा खर्च गरिने व्यवस्था गरिएको छ। साथै ‘एक घर एक धारा’ अभियानलाई पूर्णता दिने लक्ष्य राखिएको छ।

    सुशासन तथा सेवा प्रवाह सुधारका लागि आगामी आर्थिक वर्षदेखि नगर प्रहरी भर्ना प्रक्रिया अगाडि बढाइने, डिजिटल गाउँपालिका अभियान सञ्चालन गरिने तथा स्थानीय राजस्व पोर्टलमार्फत घरमै बसेर अनलाइन कर तिर्न सकिने व्यवस्था लागू गरिने भएको छ। गाउँपालिकाले आर्थिक वर्षको पहिलो तीन महिनाभित्र कर बुझाउने करदातालाई २० प्रतिशत छुट दिने व्यवस्था पनि गरेको छ।

    गाउँपालिकाका अनुसार कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, पूर्वाधार तथा सुशासनलाई केन्द्रमा राखेर ल्याइएको बजेटले दिगो विकास र समृद्ध सिरानचोक निर्माणमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

    तस्बिरसहित हेर्नुहोस्:

     


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page