गोरखा । पालुङटार नगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि ७९ करोड ७९ लाख ७९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ।
नगरपालिकाको १९औँ नगरसभामा उपप्रमुख वन्दना पाण्डेले बजेट प्रस्तुत गर्दै कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, रोजगारी सिर्जना, सामाजिक सुरक्षा, सुशासन तथा वातावरण संरक्षणलाई आगामी वर्षको प्रमुख प्राथमिकतामा राखिएको बताइन्।
प्रस्तावित बजेटअनुसार संघीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान, सशर्त अनुदान तथा राजस्व बाँडफाँडमार्फत ६५ करोड २० लाख ३४ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। त्यसैगरी गण्डकी प्रदेश सरकारबाट ४ करोड ६७ लाख ४५ हजार रुपैयाँ प्राप्त हुने अपेक्षा गरिएको छ। नगरपालिकाले आन्तरिक आयतर्फ ४ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको छ भने ६ करोड रुपैयाँ मौज्दात रकम बजेटमा समावेश गरेको छ।
नगरपालिकाले आगामी आर्थिक वर्षमा कृषि तथा पशुपालन क्षेत्रलाई विशेष प्राथमिकता दिएको छ। कृषि उत्पादनको बजारीकरण, कृषि एम्बुलेन्स सञ्चालन, सुन्तला तथा रैथाने बाली प्रवर्द्धन, भूमि बैंक स्थापना तथा दूध उत्पादनमा आधारित अनुदान कार्यक्रमलाई निरन्तरता दिइने भएको छ। किसानलाई दूध उत्पादनमा प्रतिलिटर ३ रुपैयाँका दरले अनुदान उपलब्ध गराउने व्यवस्था बजेटमा समेटिएको छ।
शिक्षा क्षेत्रका लागि ३१ करोड ५९ लाख रुपैयाँ विनियोजन गरिएको छ। बजेटमा एसईई लक्षित छात्रावास कार्यक्रम, नगरस्तरीय परीक्षा सञ्चालन, विद्यार्थी दुर्घटना बीमा, विपन्न तथा जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति तथा शैक्षिक गुणस्तर सुधारका कार्यक्रमलाई प्राथमिकता दिइएको छ।
त्यसैगरी स्वास्थ्य क्षेत्रका लागि ८ करोड ९७ लाख ४० हजार रुपैयाँ विनियोजन गरिएको छ। गाईखुर स्वास्थ्य चौकीलाई नगरस्तरीय आधारभूत अस्पतालका रूपमा सञ्चालन गर्ने, निःशुल्क औषधि वितरण कार्यक्रमलाई निरन्तरता दिने, विशेषज्ञ चिकित्सकसहित घुम्ती स्वास्थ्य सेवा सञ्चालन गर्ने तथा ‘गरिब बिरामीसँग नगरपालिका’ कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने व्यवस्था बजेटमा गरिएको छ।
नगरपालिकाले बाल अधिकार संरक्षण तथा बालमैत्री वातावरण निर्माणलाई समेत प्राथमिकतामा राखेको छ। सोहीअनुसार २०८३ साल चैतभित्र पालुङटारलाई बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा गर्ने लक्ष्य लिइएको छ। उक्त अभियानका लागि ४० लाख रुपैयाँ बजेट विनियोजन गरिएको नगरपालिकाले जनाएको छ।
‘समाजवादको आधार निर्माणको अभियान, सुन्दर र समृद्ध पालुङटार हाम्रो शान’ भन्ने नारालाई आत्मसात गर्दै प्रस्तुत बजेटले कृषि उत्पादन वृद्धि, रोजगारी सिर्जना, गुणस्तरीय शिक्षा, सहज स्वास्थ्य सेवा तथा दिगो पूर्वाधार निर्माणमार्फत नगरवासीको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउने लक्ष्य लिएको नगरपालिकाको भनाइ छ।
नगरपालिकाका अनुसार आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनसँगै उत्पादन, रोजगार, सेवा प्रवाह र सामाजिक विकासका सूचकमा सुधार आउने अपेक्षा गरिएको छ।
-
गायक सचिन भट्टराई ‘राष्ट्रिय युवा कलाकारिता सम्मान–२०२६’ बाट सम्मानित
-
जर्मनी सरकारका उच्च प्रतिनिधिमण्डलद्वारा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री मेहतासँग शिष्टाचार भेट
-
शोभा अधिकारीको ‘सफलताका २७ स्वर्णिम सूत्रहरू’ काठमाडौंमा लोकार्पण
-
मनसुनजन्य विपद् व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेका छौँ : गृहमन्त्री गुरुङ
-
गायक सन्तोष परियारको नयाँ गीत “माया एउटा वरदान हो” सार्वजनिक