लमजुङ । मर्स्याङदी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ६८ करोड ७३ लाख १८ हजार ५ सय रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
बुधबार आयोजित गाउँपालिकाको २१औँ गाउँसभामा उपाध्यक्ष जुनामाया थापाले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्नुभएको हो । प्रस्तुत बजेटमा कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार, पर्यटन तथा सामाजिक सुरक्षालाई प्राथमिकताका साथ समेटिएको गाउँपालिकाले जनाएको छ ।
बजेटअनुसार “जलविद्युतको आम्दानी, उज्यालो मर्स्याङदीमा लगानी” कार्यक्रमअन्तर्गत ५० युनिटसम्म विद्युत् उपभोग गर्ने घरधुरीलाई निःशुल्क विद्युत् महसुल उपलब्ध गराउन ५५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
कृषि तथा पशुपन्छी विकास कार्यक्रमका लागि १ करोड ८५ लाख रुपैयाँ तथा शिक्षा क्षेत्रका कार्यक्रम सञ्चालनका लागि १ करोड ९४ लाख ५० हजार रुपैयाँ बजेट छुट्याइएको छ । यस्तै, मर्स्याङदी अस्पताल सञ्चालन तथा स्वास्थ्य कार्यक्रमका लागि १ करोड ५७ लाख ८२ हजार रुपैयाँ विनियोजन गरिएको छ ।
गाउँपालिकाले बाल उद्यान तथा खुला व्यायामशाला निर्माणका लागि ५० लाख रुपैयाँ बजेट व्यवस्था गरेको छ । सामाजिक सुरक्षातर्फ ६० देखि ६९ वर्ष उमेर समूहका एकल पुरुषलाई भत्ता तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सञ्चालनका लागि १९ लाख रुपैयाँ छुट्याइएको छ भने ‘ग’ वर्गका अपाङ्गता भएका व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन १३ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
सफा मर्स्याङदी गाउँपालिका अभियानलाई निरन्तरता दिँदै फोहोरमैला व्यवस्थापनका लागि १० लाख रुपैयाँ तथा विपद् व्यवस्थापनका लागि २० लाख रुपैयाँ बजेट व्यवस्था गरिएको छ । युवा लक्षित खेलकुद, सीपमूलक तालिम तथा सचेतनामूलक कार्यक्रमका लागि १७ लाख रुपैयाँ र खेलाडी प्रोत्साहन कार्यक्रमका लागि ५ लाख रुपैयाँ छुट्याइएको छ ।
पर्यटन प्रवर्द्धनका लागि ९९ लाख रुपैयाँ, विद्युतीय चुलो प्रयोगमा अनुदानका लागि ५ लाख रुपैयाँ तथा मुख्य बजार क्षेत्रमा सीसी क्यामेरा जडानका लागि ६ लाख रुपैयाँ विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ ।
त्यसैगरी धार्मिक, सांस्कृतिक, साहित्यिक तथा महोत्सव कार्यक्रम सञ्चालनका लागि १५ लाख रुपैयाँ, परम्परागत पानीघट्ट, ढिकी र जाँतो संरक्षणका लागि ३ लाख रुपैयाँ तथा गाउँपालिका र वडा कार्यालयमा मिनी लाइब्रेरी स्थापना गर्न १० लाख रुपैयाँ बजेट व्यवस्था गरिएको छ ।
अनाथ तथा विपन्न बालबालिकाका लागि बाल संरक्षण कोष स्थापना गर्न २ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको छ भने संघ र प्रदेश सरकारसँगको समपूरक कोष कार्यक्रमका लागि ५ करोड ८० लाख रुपैयाँ छुट्याइएको छ । साथै, गाउँपालिकाका सबै वडामा आवश्यक साना पूर्वाधार निर्माणका लागि करिब ५ करोड रुपैयाँ बजेट व्यवस्था गरिएको गाउँसभामा जानकारी दिइएको छ ।
गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले प्रस्तुत बजेटले स्थानीय उत्पादन वृद्धि, सामाजिक सुरक्षा सुदृढीकरण, पर्यटन विकास तथा पूर्वाधार विस्तारमार्फत समृद्ध मर्स्याङदी निर्माणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
अध्यक्ष गुरुङको अध्यक्षतामा सम्पन्न गाउँसभामा जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि तथा सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

-
गायक सचिन भट्टराई ‘राष्ट्रिय युवा कलाकारिता सम्मान–२०२६’ बाट सम्मानित
-
मर्स्याङ्दी गाउँपालिकाको ६८ करोड ७३ लाख रुपैयाँ बजेट, कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता
-
जर्मनी सरकारका उच्च प्रतिनिधिमण्डलद्वारा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री मेहतासँग शिष्टाचार भेट
-
शोभा अधिकारीको ‘सफलताका २७ स्वर्णिम सूत्रहरू’ काठमाडौंमा लोकार्पण
-
मनसुनजन्य विपद् व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेका छौँ : गृहमन्त्री गुरुङ