तनहुँ । भानु नगरपालिकाको १८औँ नगरसभा अधिवेशन आज सम्पन्न भएको छ। नगर प्रमुख आनन्दराज त्रिपाठीको अध्यक्षतामा सम्पन्न नगरसभाले आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम र बजेट पारित गरेको हो।
नगरसभामा नगर प्रमुख त्रिपाठीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कृषि, पशुपन्छी, मत्स्य विकास, शिक्षा, पर्यटन तथा सुशासनका क्षेत्रलाई प्राथमिकतामा राखिएको जानकारी दिनुभयो। उहाँले पालिकाले सञ्चालन गर्दै आएको हाटबजार व्यवस्थापनलाई थप व्यवस्थित गर्दै स्थानीय कृषकलाई उत्पादनमुखी बनाउन प्रोत्साहन गरिने, पशु स्वास्थ्य शिविरलाई प्रभावकारी बनाइने तथा पशु बीमा कार्यक्रमलाई सशक्त रूपमा कार्यान्वयन गरिने बताउनुभयो।
यस्तै, उत्पादनमा आधारित अनुदान कार्यक्रम सञ्चालन गरिने, दुग्ध उत्पादनमा प्रतिलिटर रु. ५ अनुदान कार्यक्रमलाई निरन्तरता दिइने तथा मत्स्य विकासका लागि कृषकलाई प्राविधिक तालिम उपलब्ध गराइने नीति लिइएको छ। भानु नगरपालिका र इलामको रोंग गाउँपालिकाबीच कृषि, पर्यटन तथा शिक्षाका क्षेत्रमा भएको असल अभ्यास आदानप्रदानसम्बन्धी समझदारीलाई कार्यान्वयन गरिने कार्यक्रमसमेत समावेश गरिएको छ।
पर्यटन विकासलाई विशेष प्राथमिकता दिँदै “जीवनमा एक पटक त अवश्य जाऔँ, भानुभक्तको घरआँगन रमाऔँ” भन्ने नारासहित आदिकवि भानुभक्त आचार्यको जन्मस्थललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन गन्तव्यका रूपमा विकास गर्ने नीति अवलम्बन गरिएको नगर प्रमुख त्रिपाठीले बताउनुभयो। उहाँले भारतका पश्चिम बंगाल, सिक्किम, आसाम, गुवाहाटीलगायत क्षेत्रका नेपाली भाषी समुदायलाई आकर्षित गर्ने कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो।
नगर उपप्रमुख उमा गोतामेले आदिकवि भानुभक्त आचार्यको जन्मस्थल विकासका लागि संघीय सरकारबाट विनियोजित रु. २४ करोड बजेटप्रति धन्यवाद व्यक्त गर्दै उक्त आयोजनाको प्रभावकारी कार्यान्वयनका लागि सबै सरोकारवालाको सहयोग आवश्यक रहेको बताउनुभयो।
शिक्षा क्षेत्रतर्फ स्थानीय पाठ्यक्रम “हाम्रो भानु” लाई थप प्रभावकारी रूपमा कार्यान्वयन गरिने, आधारभूत तह कक्षा १ देखि ८ सम्म निःशुल्क वितरण हुँदै आएको पाठ्यपुस्तक कार्यक्रमलाई निरन्तरता दिइने तथा कक्षा ६ सम्मका विद्यार्थीका लागि दिवा खाजा कार्यक्रमलाई थप सुदृढ बनाइने नीति लिइएको छ। साथै आगामी आर्थिक वर्षभित्र कम्तीमा तीन वटा वडालाई बालमैत्री वडा घोषणा गर्ने लक्ष्यसमेत निर्धारण गरिएको छ।
नगर उपप्रमुख गोतामेले प्रस्तुत गर्नुभएको बजेट वक्तव्यअनुसार आर्थिक वर्ष २०८३/०८४ का लागि कुल रु. ८४ करोड ३८ लाख ९० हजार ५ सय ६८ बराबरको बजेट विनियोजन गरिएको छ। कुल बजेटमध्ये चालुतर्फ रु. ५७ करोड ८८ लाख ९० हजार ५ सय ६८ अर्थात् ६८.५९ प्रतिशत तथा पुँजीगततर्फ रु. २६ करोड ५० लाख अर्थात् ३१.४१ प्रतिशत बजेट विनियोजन गरिएको छ।
नगरसभामा विभिन्न विषयगत समितिहरूले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गर्दै उपलब्धि, समस्या, चुनौती तथा अवसरका विषयमा जानकारी गराएका थिए।
यसै अवसरमा सुशासन समितिको सिफारिसका आधारमा उत्कृष्ट कार्यसम्पादन, व्यक्तिगत तथा संस्थागत आचरण र नगरपालिकाको कार्यप्रणालीमा पुर्याएको योगदानको मूल्याङ्कन गरी भानु नगरपालिकाका विभिन्न शाखामा कार्यरत १९ जना राष्ट्रसेवक कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरिएको थियो।
-
गायक सचिन भट्टराई ‘राष्ट्रिय युवा कलाकारिता सम्मान–२०२६’ बाट सम्मानित
-
मर्स्याङ्दी गाउँपालिकाको ६८ करोड ७३ लाख रुपैयाँ बजेट, कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता
-
जर्मनी सरकारका उच्च प्रतिनिधिमण्डलद्वारा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री मेहतासँग शिष्टाचार भेट
-
शोभा अधिकारीको ‘सफलताका २७ स्वर्णिम सूत्रहरू’ काठमाडौंमा लोकार्पण
-
मनसुनजन्य विपद् व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेका छौँ : गृहमन्त्री गुरुङ