logo

बिहिबार, असार ११ २०८३

kantipurpationlinetv

२०८३ असार ११ बिहिबार

ककनी गाउँपालिकाको ६९ करोड ६० लाख २८ हजारको बजेट : कृषि, पर्यटन र पूर्वाधारमा विशेष जोड

ककनी गाउँपालिकाको ६९ करोड ६० लाख २८ हजारको बजेट : कृषि, पर्यटन र पूर्वाधारमा विशेष जोड


  • बिहिबार, असार ११ २०८३
  • 1.5K
    SHARES

    नुवाकोट — ककनी गाउँपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि ६९ करोड ६० लाख २८ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको अठारौं गाउँसभामा अध्यक्ष सुमन तामाङ ‘सज्जन’ ले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कृषि, पर्यटन र दिगो पूर्वाधार विकासलाई केन्द्रमा राखेर बजेट ल्याइएको बताएका छन् ।

    ‘समृद्ध ककनीको आधार : कृषि, पर्यटन र दिगो पूर्वाधार’ भन्ने दीर्घकालीन सोचसहित ल्याइएको नीति तथा कार्यक्रममा कृषि उत्पादन वृद्धि, पर्यटन प्रवर्द्धन, सडक पूर्वाधार विस्तार, गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवामा जोड दिइएको छ ।

    कृषिलाई गाउँपालिकाको आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा अघि सारिएको छ । कृषि क्षेत्रमा आधुनिकीकरण, यान्त्रिकीकरण, व्यवसायीकरण तथा बजारीकरणलाई प्राथमिकता दिइएको छ । सुरक्षित खाद्य उत्पादन, रैथाने बाली संरक्षण, कृषि स्टार्टअप कार्यक्रम तथा स्ट्रबेरी खेती प्रवर्द्धनका कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।

    गाउँपालिकाले ‘एक वडा, एक उत्पादन’ कार्यक्रमलाई निरन्तरता दिँदै वडागत विशेष उत्पादनको विकासमा जोड दिएको छ । वडा नम्बर १ मा तरकारी खेती, वडा नम्बर २ मा स्ट्रबेरी खेती, वडा नम्बर ३ मा दुग्ध व्यवसाय तथा पशुपालन, वडा नम्बर ४ मा रेम्बो ट्राउट माछापालन, वडा नम्बर ५ मा तरकारी तथा अलैंची खेती, वडा नम्बर ६ मा तरकारी तथा कफी खेती, वडा नम्बर ७ मा फलफूल तथा तरकारी खेती र वडा नम्बर ८ मा सुन्तला खेती प्रवर्द्धन गरिने नीति लिइएको छ ।

    कृषि, पशुपन्छी तथा मत्स्यपालन क्षेत्रका लागि ४२ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

    पर्यटन क्षेत्रलाई पनि गाउँपालिकाले आर्थिक विकासको अर्को आधारका रूपमा अघि सारेको छ । ककनी हाइट, फुङफुङ झरना, लौके झरना, रुम्बाराजा दरबार, बसन्ती दरबार, ककनी भ्यूटावर, अन्तर्राष्ट्रिय स्काउट सेन्टर, मेमोरियल पार्कलगायत पर्यटकीय गन्तव्यको संरक्षण, प्रवर्द्धन तथा पूर्वाधार विकास गरिने भएको छ । रुम्बाराजा क्षेत्रमा रक क्लाइम्बिङ तथा फुङफुङ झरना क्षेत्रमा क्यानोनिङलाई व्यावसायिक रूपमा सञ्चालन गर्ने योजना समेत समेटिएको छ ।

    पूर्वाधार विकासतर्फ सडकलाई उच्च प्राथमिकतामा राखिएको छ । गाउँपालिकाले स्थानीय सडक, पुल तथा यातायात पूर्वाधार विकासका लागि मात्रै करिब १६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । त्यस्तै सिँचाइतर्फ करिब ३ करोड रुपैयाँ र भवन तथा शहरी विकासका लागि करिब २ करोड रुपैयाँ छुट्याइएको छ ।

    शिक्षा क्षेत्रका लागि १ करोड ७२ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । विद्यालय सुधार, स्थानीय पाठ्यक्रम कार्यान्वयन, खेलकुद विकास, छात्रवृत्ति, दिवा खाजा तथा निःशुल्क स्यानिटरी प्याड वितरण कार्यक्रमलाई निरन्तरता दिइने भएको छ ।

    स्वास्थ्य क्षेत्रका लागि ३६ लाख रुपैयाँ बजेट छुट्याइएको छ । निर्माणाधीन १० शैयाको अस्पताल आगामी आर्थिक वर्षभित्र सञ्चालनमा ल्याउने, स्वास्थ्य संस्थाको स्तरोन्नति गर्ने, स्वास्थ्य बीमा विस्तार गर्ने तथा २४ घण्टे स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य राखिएको छ ।

    रोजगार तथा उद्यमशीलता विकासका लागि २८ लाख रुपैयाँ, विपद् व्यवस्थापनका लागि ३० लाख रुपैयाँ, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणका लागि १५ लाख रुपैयाँ तथा न्यायिक समितिका कार्यक्रमका लागि १० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

    गाउँपालिकाले आगामी वर्ष डिजिटल सुशासनलाई समेत प्राथमिकतामा राखेको छ । अनलाइन राजस्व भुक्तानी, डिजिटल अभिलेखीकरण, विद्युतीय सेवा प्रवाह तथा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगसम्बन्धी कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

    बजेट प्रस्तुत गर्दै अध्यक्ष तामाङले सीमित स्रोत–साधनका बाबजुद नागरिकका आवश्यकता र अपेक्षालाई सम्बोधन गर्ने प्रयास गरिएको बताए । कृषि, पर्यटन र पूर्वाधार विकासमार्फत स्थानीय अर्थतन्त्रलाई बलियो बनाउँदै ककनीलाई समृद्ध गाउँपालिकाका रूपमा स्थापित गर्ने लक्ष्य रहेको उनको भनाइ छ ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page