logo

मंगलबार, साउन १२ २०८३

kantipurpationlinetv

२०८३ साउन १२ मंगलबार

प्रदेश अस्पताल गोरखाको अध्यक्षमा ढकाल, आँपपिपलमा पाठक

प्रदेश अस्पताल गोरखाको अध्यक्षमा ढकाल, आँपपिपलमा पाठक


  • सोमबार, माघ १२ २०८२
  • 2.1K
    SHARES

    गोरखा । गण्डकी प्रदेश सरकारले प्रदेश अस्पताल गोरखा र प्रदेश अस्पताल आँपपिपलको अस्पताल व्यवस्थापन समितिमा नयाँ अध्यक्ष तथा सदस्य नियुक्त गरेको छ।

    प्रदेश सरकारको माघ ४ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशस्तरीय अस्पतालहरूको व्यवस्थापन समितिमा अध्यक्ष र दुई सदस्य नियुक्त गरेको हो। सरकार स्रोतका अनुसार कांग्रेस र एमालेबीच भागबन्डाका आधारमा नियुक्ति गरिएको छ।

    प्रदेश अस्पताल गोरखाको अध्यक्षमा कांग्रेसका कृष्ण ढकाल नियुक्त भएका छन्। समितिको महिला सदस्यमा कांग्रेसकी विद्या मास्के र खुला सदस्यमा एमालेका सानुकाजी वन्त नियुक्त भएका छन्।

    यस्तै, प्रदेश अस्पताल आँपपिपलको अध्यक्षमा एमालेकी पार्वतीदेवी पाठक नियुक्त भएकी छन्। महिला सदस्यमा कांग्रेसकी प्रमिला राना मगर गुरुङ र खुला सदस्यमा कांग्रेसका रविन्द्र देवकोटा नियुक्त भएका छन्।

    यसअघि गत भदौ ३ गतेको मन्त्रिपरिषद् बैठकले नयाँ गठनादेश जारी गर्ने निर्णय गर्दै साविकका अस्पताल व्यवस्थापन समिति खारेज गरेको थियो। सोही गठनादेशअनुसार प्रदेश मातहतका अस्पतालमा नयाँ व्यवस्थापन समिति गठन गरिएको हो।

    गठनादेशअनुसार १०० र ५० शैयाका अस्पतालको अध्यक्ष सम्बन्धित जिल्लाको स्थायी बासिन्दा र कम्तीमा स्नातक तह उत्तीर्ण व्यक्ति हुनुपर्ने व्यवस्था छ। यस्ता अस्पतालको व्यवस्थापन समितिमा स्थानीय तहका प्रमुख वा प्रतिनिधि, मन्त्रालयबाट मनोनित सदस्य, प्रशासन र लेखा निकायका प्रतिनिधि, विशेषज्ञ चिकित्सक, नर्सिङ प्रमुख तथा मेडिकल सुपरिटेन्डेन्ट सदस्य सचिव रहने गरी नौ सदस्यीय समिति गठन गरिने व्यवस्था छ।

    यसअघि अस्पताल व्यवस्थापन समितिको अध्यक्ष जिल्ला समन्वय समितिका प्रमुख रहने व्यवस्था थियो। नयाँ गठनादेशले उक्त व्यवस्था हटाउँदै सरकारले अध्यक्ष तथा सदस्य राजनीतिक नियुक्तिबाट चयन गर्ने व्यवस्था गरेको छ। मन्त्रालय स्रोतका अनुसार अध्यक्ष तथा सदस्यहरूले बैठक भत्ता समेत पाउनेछन्।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page