गोरखा । गोरखामा आज (बुधबार)देखि पाठेघरको मुखको क्यान्सरविरुद्ध प्रभावकारी मानिने ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) खोप अभियान सञ्चालन हुँदैछ।
राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत माघ २७ देखि फागुन १ गतेसम्म सञ्चालन हुने अभियानमा कक्षा ६ मा अध्ययनरत सबै छात्रा तथा विद्यालयबाहिर रहेका १० वर्ष उमेरका बालिकालाई खोप लगाइने एचपीभी खोपका फोकल पर्सन नानीबाबु दानीले जानकारी दिए।
गत वर्षको अभियानमा छुटेका कक्षा ७ देखि १० सम्म अध्ययनरत छात्रा तथा विद्यालयबाहिर रहेका ११ देखि १४ वर्ष उमेर समूहका किशोरीलाई पनि यस अभियानमार्फत खोप लगाइने उनले बताए।
अभियानअन्तर्गत जिल्लाभर एक हजार ८८५ बालिकालाई एचपीभी खोप लगाइनेछ। प्रदेश जनस्वास्थ्य कार्यालय गोरखाका अनुसार गोरखा नगरपालिकामा ५३९, पालुङटार नगरपालिकामा २४५, चुमनुब्री गाउँपालिकामा २२, धार्चे गाउँपालिकामा १५१, आरुघाट गाउँपालिकामा १७५, भीमसेन थापा गाउँपालिकामा १०४, बारपाक सुलिकोट गाउँपालिकामा १३७, शहीद लखन गाउँपालिकामा १३१, गण्डकी गाउँपालिकामा १५७, सिरानचोक गाउँपालिकामा १३३ र अजिरकोट गाउँपालिकामा ८० जना बालिका लाभान्वित हुनेछन्।
विद्यालय नजाने तर खोप लगाउन योग्य ११ जना बालिकालाई समेत तोकिएको स्वास्थ्य संस्थामार्फत खोप लगाइने व्यवस्था गरिएको छ। तीमध्ये गोरखा नगरपालिकामा दुई, पालुङटारमा एक, गण्डकी गाउँपालिकामा तीन र सिरानचोक गाउँपालिकामा पाँच जना रहेका छन्।
कक्षा ६ सञ्चालन हुने सरकारी तथा निजी विद्यालय र स्वास्थ्य संस्थालाई खोप केन्द्र तोकिएको छ। तोकिएको मितिमा विद्यालय तथा स्वास्थ्य संस्थाबाट खोप सेवा प्रदान गरिने जनाइएको छ।
खोप अभियानबारे जानकारी दिन आयोजित कार्यक्रममा प्रदेश जनस्वास्थ्य कार्यालय गोरखाकी प्रमुख डा.सिमृन काफ्लेले प्रारम्भिक किशोरावस्थामा एचपीभी खोप लगाउँदा पाठेघरको मुखको क्यान्सरबाट प्रभावकारी सुरक्षा मिल्ने अध्ययनले देखाएको बताइन्। उनले खोप पूर्ण सुरक्षित र निःशुल्क भएकाले लक्षित उमेर समूहका सबै बालिकालाई अनिवार्य रूपमा खोप लगाउन अभिभावकलाई आग्रह गरिन्।
नेपालमा हरेक वर्ष दुई हजारभन्दा बढी महिलामा पाठेघरको मुखको क्यान्सर देखिने गरेको विभिन्न अध्ययनले देखाएका छन्। महिलामा हुने क्यान्सरमध्ये यो दोस्रो प्रमुख क्यान्सर मानिन्छ।
सरकारले एचपीभी खोपलाई नियमित खोप कार्यक्रममा समावेश गरिसकेको भन्दै प्रदेश जनस्वास्थ्य कार्यालयले पायक पर्ने खोप केन्द्रमा पुगेर खोप सेवा लिन सबैलाई आग्रह गरेको छ।
-
चलचित्र ‘बध’बाट बद्री प्रसाद तिवारीको फिल्मी डेब्यु, पोखराबाट छायांकन सुरु
-
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको महाधिवेशन असोज २२, २३ र २४ गते हुने
-
गायिका शान्ति श्रीस मगरको लाउरेनीलाई मस्ती सार्वजनिक, टिकटकदेखि फेसबुक रिल्ससम्म चर्चामा
-
जेनजी आन्दोलनको एक वर्ष : उतारचढाव, स्थिरता र समृद्धिको नयाँ बाटो
-
कांग्रेसले सरकारलाई दियो १ करोड, बाढीपीडितको राहत र पुनर्स्थापनामा खर्च गर्न आग्रह