logo

शनिबार, असार २० २०८३

kantipurpationlinetv

२०८३ असार २० शनिबार

मेयर आनन्दराज त्रिपाठीले उद्घाटन गरे भानु स्वास्थ्य चौकीको नयाँ भवन

मेयर आनन्दराज त्रिपाठीले उद्घाटन गरे भानु स्वास्थ्य चौकीको नयाँ भवन


  • शनिबार, असार २० २०८३
  • 1.7K
    SHARES

    तनहुँ – तनहुँको भानु नगरपालिका–३ खहरेस्थित भानु स्वास्थ्य चौकीको नयाँ सुविधासम्पन्न भवन उद्घाटन गरिएको छ। नेपाल सरकारको सहरी विकास मन्त्रालयको आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत निर्माण सम्पन्न भएको भवनको भानु नगरपालिकाका मेयर आनन्दराज त्रिपाठीले उद्घाटन गरेका हुन्।

    सहरी विकास तथा भवन निर्माण विभाग, कास्कीको प्राविधिक सहयोगमा निर्माण गरिएको भवनले स्थानीयवासीलाई थप सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने अपेक्षा गरिएको छ।

    भवन निर्माणका लागि स्थानीय ६ परिवारले करिब ३ करोड २४ लाख २५ हजार रुपैयाँ बराबर मूल्यको ५ रोपनी १ आना जग्गा निःशुल्क उपलब्ध गराएका छन्। स्वास्थ्य चौकी निर्माणका लागि गरिएको उक्त जग्गादानलाई स्थानीयस्तरमा उदाहरणीय सहयोगका रूपमा हेरिएको छ।

    जग्गादाता परिवारमा बालकृष्ण कार्की–राममाया कार्की, विष्णुबहादुर कार्की पन्त–सरिता कार्की पन्त, ज्ञानबहादुर गुरुङ–वीरमाया गुरुङ, दुर्गबहादुर गुरुङ–रनकुमारी गुरुङ, स्वर्गीय लालबहादुर श्रेष्ठ–जगकुमारी श्रेष्ठ तथा रामबहादुर गुरुङ–सुनकोरी गुरुङ रहेका छन्।

    स्वास्थ्य सेवा विस्तारमा महत्त्वपूर्ण योगदान पुर्‍याएका जग्गादाता परिवारप्रति सम्मान व्यक्त गर्दै हालै आयोजित कार्यक्रममा शिलालेखसमेत अनावरण गरिएको थियो।

    जग्गादाताहरूले गाउँमै गुणस्तरीय स्वास्थ्य सेवा विस्तार होस् र उपचारको अभावमा कुनै नागरिकले दुःख पाउन नपरोस् भन्ने उद्देश्यले जग्गा दान गरेको बताएका छन्। स्थानीयवासीले पनि सामूहिक प्रयासबाट स्वास्थ्य चौकी निर्माणका लागि आवश्यक जग्गा जुट्नुलाई गाउँको गौरवको विषयका रूपमा लिएका छन्।

    भानु नगरपालिका र स्वास्थ्य चौकी व्यवस्थापन समितिले स्वास्थ्य पूर्वाधार निर्माणमा सहयोग पुर्‍याउने सबै जग्गादाता परिवारप्रति आभार व्यक्त गर्दै उनीहरूको योगदान अनुकरणीय रहेको जनाएको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech