logo

मंगलबार, साउन १२ २०८३

kantipurpationlinetv

२०८३ साउन १२ मंगलबार

गोकर्णेश्वर नगरपालिकाद्वारा नारायणटारमा ट्राफिक लाइट सञ्चालन

गोकर्णेश्वर नगरपालिकाद्वारा नारायणटारमा ट्राफिक लाइट सञ्चालन


  • बुधबार, पुष २९ २०८२
  • 77
    SHARES

    काठमाडौं — गोकर्णेश्वर नगरपालिका–स्थित नारायणटार पुल क्षेत्रमा आजदेखि ट्राफिक लाइट औपचारिक रूपमा सञ्चालनमा आएको छ। बढ्दो सवारी चापलाई व्यवस्थित गर्दै सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले नगरपालिकाको पहल तथा नेपाल प्रहरी अन्तर्गत ट्राफिक प्रहरीको समन्वयमा उक्त क्षेत्रमा ट्राफिक लाइट जडान गरिएको हो।

    ट्राफिक लाइट उद्घाटन कार्यक्रम उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी अतिरिक्त महानिरीक्षक (AIGP) ईश्वर कार्की को प्रमुख आतिथ्यता तथा गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दीपक कुमार रिसालको सभापतित्वमा सम्पन्न भएको थियो। उद्घाटनका अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले वृक्षारोपण गरी कार्यक्रमको शुभारम्भ गरेका थिए भने त्यसपछि प्रमुख अतिथि कार्की, नगर प्रमुख रिसाल तथा उपप्रमुख सान्नानी लामाले संयुक्त रूपमा ट्राफिक लाइट सञ्चालनमा ल्याएका थिए।

    कार्यक्रममा नगर उपप्रमुख सान्नानी लामा, वडा नं. ३ का अध्यक्ष मुरारीप्रसाद कुइकेल, वडा नं. ८ का अध्यक्ष नन्दलाल श्रेष्ठ, जनप्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि, विभिन्न सङ्घसंस्थाका पदाधिकारी, विद्यार्थी, बुद्धिजीवी तथा स्थानीयवासीहरूको उपस्थिति रहेको थियो।

    कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि ईश्वर कार्कीले शहरीकरण र सवारी चापसँगै ट्राफिक व्यवस्थापन थप चुनौतीपूर्ण बन्दै गएको उल्लेख गर्दै ट्राफिक लाइट सञ्चालनले सवारी आवागमनलाई व्यवस्थित बनाउन र दुर्घटना न्यूनीकरणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे। उनले सबै नागरिकलाई ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह पनि गरे।

    सभापति तथा नगर प्रमुख दीपक कुमार रिसालले नागरिकको सुरक्षा र सहज आवागमनलाई प्राथमिकतामा राख्दै नगरपालिका पूर्वाधार विकासका कार्यहरू अघि बढाइरहेको बताए। उनले यसअघि नगरपालिकाका दुई स्थानमा ट्राफिक लाइट सञ्चालनमा आइसकेको र नारायणटारमा जडान गरिएको ट्राफिक लाइट तेस्रो भएको जानकारी दिए। ट्राफिक दुर्घटनाबाट नागरिकको ज्यान जोगाउनु तथा ट्राफिक नियमप्रति जनचेतना अभिवृद्धि गर्नु नगरपालिकाको प्रमुख उद्देश्य रहेको उनको भनाइ थियो।

    विशेष अतिथि उपप्रमुख सान्नानी लामाले ट्राफिक व्यवस्थापनमा पूर्वाधारसँगै नागरिकको सचेतना पनि उत्तिकै आवश्यक रहेको उल्लेख गर्दै पैदलयात्री, चालक तथा सवारीधनी सबैले ट्राफिक नियमको पालना गरेमा मात्र दुर्घटना न्यूनीकरण सम्भव हुने बताइन्।

    दुर्घटना न्यूनीकरण विशेष अभियान तथा सप्ताह–२०८२ का अवसरमा ट्राफिक प्रहरीद्वारा जोरपाटी चोकदेखि नारायणटारसम्म सचेतनामूलक र्‍याली समेत आयोजना गरिएको थियो। र्‍याली नारायणटारमा पुगेर समापन भएपछि ट्राफिक लाइट उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो।

    कार्यक्रममा ट्राफिक प्रहरी वृत्त बौद्धका प्रमुख शेखरजंग थापाले स्वागत मन्तव्य व्यक्त गरेका थिए। वक्ताहरूले ट्राफिक नियमको अनिवार्य पालना, जेब्राक्रसको प्रयोग, हेल्मेट तथा सिटबेल्टको अनिवार्य प्रयोग र गति नियन्त्रणमा विशेष जोड दिएका थिए।

    स्थानीयवासीहरूले नारायणटार क्षेत्रमा ट्राफिक लाइट सञ्चालन भएपछि सडक सुरक्षा अभिवृद्धि हुने विश्वास व्यक्त गरेका छन्। नगरपालिकाले आगामी दिनमा पनि जोखिमयुक्त स्थानहरूको पहिचान गरी ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउने जनाएको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page