logo

आइतबार, असार २१ २०८३

kantipurpationlinetv

२०८३ असार २१ आइतबार

नेपालको यात्रा क्षेत्रमा ‘गुरूबस’को प्रवेश, डिजिटल टिकटिङदेखि भाडा गाडीसम्मको सेवा सुरु

नेपालको यात्रा क्षेत्रमा ‘गुरूबस’को प्रवेश, डिजिटल टिकटिङदेखि भाडा गाडीसम्मको सेवा सुरु


  • आइतबार, असार २१ २०८३
  • 0.8K
    SHARES

    काठमाडौं, असार २१ — गुरूबस प्रालिले इन्टरसिटी बस टिकटिङ एप तथा भाडा गाडी सेवा औपचारिक रूपमा सार्वजनिक गरेको छ। कम्पनीले आफूलाई नेपालको पहिलो ‘Dharmic Travel Ecosystem’ का रूपमा प्रस्तुत गर्दै यात्रा, सेवा र प्रविधिलाई एउटै प्लेटफर्ममा जोड्ने लक्ष्य लिएको जनाएको छ।

    शनिबार आयोजित कार्यक्रममा कम्पनीले आफ्नो डिजिटल प्लेटफर्म सार्वजनिक गर्दै यात्रालाई केवल टिकट बुकिङमा सीमित नराखी सम्पूर्ण यात्रा अनुभवसँग जोड्ने अवधारणा अघि सारेको जनाएको हो।

    कार्यक्रमको मुख्य आकर्षणका रूपमा मञ्चमा ‘Eternal Founder’ उल्लेख गर्दै श्री कालभैरवको तस्बिर फूलमाला, धूप र दियोसहित सजाएर राखिएको थियो।

    कार्यक्रममा बोल्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक विनय गौतमले कम्पनीको अवधारणा आफूले सिर्जना गरेको नभई आफूलाई देखाइएको र आफू त्यसको कार्यान्वयनकर्ता मात्र भएको बताए।

    “यो कम्पनी मेरो होइन, उहाँको हो। म उहाँको हात मात्र हुँ,” उनले भने।

    अन्य बस बुकिङ प्लेटफर्मसँगको भिन्नताबारे उनले गुरूबसको उद्देश्य टिकट बिक्रीभन्दा बाहिर यात्रुको सम्पूर्ण यात्रा अनुभवलाई सहज बनाउनु रहेको बताए।

    “यात्रा भनेको केवल टिकट काट्नु होइन; घर छोड्नु, बाटो हिँड्नु, मन्दिर पुग्नु, आफन्त भेट्नु र सकुशल घर फर्किनु हो,” उनले भने।

    कम्पनीले आफूलाई बजार प्रतिस्पर्धाभन्दा सेवा–केन्द्रित संस्थाका रूपमा अघि बढाउने नीति लिएको जनाउँदै अन्य बस टिकटिङ प्लेटफर्मप्रति सम्मान रहेको उल्लेख गरेको छ।

    कम्पनीका अनुसार गुरूबसको स्वामित्व संरचनामा श्री कालभैरवलाई ११ प्रतिशत हिस्सासहित ‘Eternal Founder’ को हैसियत दिइएको छ। उक्त हिस्साबाट प्राप्त हुने नाफा मन्दिर संरक्षण, बेवारिसे पशुको स्याहार, वृद्धवृद्धाको सहयोग, अनाथ बालबालिकाको शिक्षा तथा पुनर्स्थापनासम्बन्धी सामाजिक कार्यमा खर्च गरिने कम्पनीले जनाएको छ।

    गुरूबसले शनिबारदेखि सात प्रमुख रुटमा १४ गन्तव्यसम्म इन्टरसिटी बस सेवा सञ्चालनमा ल्याएको जनाएको छ। यात्रुले QR टिकट, eSewa, Khalti, FonePay तथा बैंकिङ माध्यमबाट डिजिटल भुक्तानी गर्न सक्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ। यससँगै व्यक्तिगत तथा समूह यात्राका लागि भाडा गाडी (Rental) सेवासमेत सुरु गरिएको छ।

    कम्पनीका अनुसार आगामी चरणमा आध्यात्मिक तीर्थयात्रा प्याकेज, ट्रेकिङ, होटल बुकिङ तथा हवाई टिकट सेवासमेत यही प्लेटफर्ममार्फत उपलब्ध गराइनेछ।

    इन्टरनेट पहुँच सीमित भएका क्षेत्रका यात्रुलाई लक्षित गर्दै WhatsApp, SMS तथा USSD मार्फत बुकिङ सुविधा उपलब्ध गराउने तथा देशभर एजेन्ट नेटवर्क विस्तार गर्ने योजना कम्पनीले सार्वजनिक गरेको छ।

    नेपालमा वार्षिक करिब १ करोड ५४ लाख बस यात्रा हुने अनुमान गर्दै कम्पनीले अधिकांश टिकटिङ प्रणाली अझै म्यानुअल रहेको दाबी गरेको छ। बस व्यवसायीलाई निःशुल्क रूपमा प्लेटफर्ममा आबद्ध गराइने र सफल बुकिङ भएपछि मात्र ८ प्रतिशत कमिसन लिने व्यवसायिक मोडल अपनाइएको कम्पनीले जनाएको छ।

    कम्पनीले आफ्नो नाराका रूपमा “Guaranteed Seat. Secure Payment. 11% Seva. Divine Suraksha. Your Journey Is Divine.” प्रस्तुत गरेको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech