logo

आइतबार, असार २१ २०८३

kantipurpationlinetv

२०८३ असार २१ आइतबार

पालुङ्टार नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, नीति, कार्यक्रम तथा बजेट सर्वसम्मत पारित

पालुङ्टार नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, नीति, कार्यक्रम तथा बजेट सर्वसम्मत पारित


  • आइतबार, असार २१ २०८३
  • 2.9K
    SHARES

    गोरखा — पालुङटार नगरपालिका को १९औँ नगरसभाले आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तावित नीति तथा कार्यक्रम, वार्षिक बजेट, आर्थिक विधेयक–२०८३ र विनियोजन विधेयक–२०८३ सर्वसम्मत रूपमा पारित गरेको छ।

    नगर प्रमुख विवस चिन्तनको अध्यक्षतामा असार २१ गते नगरपालिकाको सभाहलमा सम्पन्न नगरसभाले स्थानीय सरकार सञ्चालन तथा व्यवस्थापनसँग सम्बन्धित विभिन्न विधेयकहरू पारित गर्दै आगामी आर्थिक वर्षका नीति, योजना तथा कार्यक्रम कार्यान्वयनका लागि आवश्यक कानुनी र संस्थागत आधार तयार गरेको जनाएको छ।

    नगरसभाले गत आर्थिक वर्ष २०८१/०८२ को यथार्थ आय–व्यय, चालु आर्थिक वर्ष २०८२/०८३ को संशोधित आय–व्यय तथा आगामी आर्थिक वर्ष २०८३/०८४ को आय–व्यय अनुमान र मध्यमकालीन खर्च संरचनालाई अनुमोदन गरेको छ। साथै चालु आर्थिक वर्षमा नगर कार्यपालिकाबाट भएका निर्णयहरूलाई समेत अनुमोदन गरिएको छ।

    स्वीकृत योजना तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि वार्षिक खरिद योजना, कार्यान्वयन कार्ययोजना, लागत अनुमान, ठेक्का प्रक्रिया तथा उपभोक्ता समिति गठनसम्बन्धी कार्यतालिका पारित गरिएको छ। चालु आर्थिक वर्षमा सम्पन्न हुन नसकेका योजना तथा कार्यक्रम आवश्यकताअनुसार आगामी आर्थिक वर्षमा दायित्व सार्ने निर्णय पनि नगरसभाले गरेको छ।

    नगरसभाले करार सेवामा कार्यरत कर्मचारीहरूको आवश्यकताअनुसार करार अवधि थप गर्ने, तलब प्रतिवेदन स्वीकृत गर्ने, नेपाल सरकारको निर्णयअनुसार तलब समायोजन लागू गर्ने तथा प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय गरेको छ। बैठक भत्ता, तालिम, गोष्ठी, सञ्चार तथा अन्य कार्यक्रम सञ्चालनसम्बन्धी खर्चका मापदण्डसमेत स्वीकृत गरिएको छ।

    विकास आयोजनाको प्रभावकारी अनुगमन तथा गुणस्तर सुनिश्चित गर्न नगरस्तरीय र वडास्तरीय अनुगमन समिति गठन गर्ने तथा सडक, भवन, सीसीटीभी क्यामेरा, सडकबत्ती लगायतका आयोजनाको नियमित गुणस्तर परीक्षण (ल्याब टेस्ट) गर्ने व्यवस्था लागू गर्ने निर्णयसमेत नगरसभाले गरेको छ।

    त्यसैगरी, सुशासन, सेवा प्रवाह तथा संस्थागत सुदृढीकरणलाई प्राथमिकतामा राख्दै प्लास्टिक झोला प्रयोग नियन्त्रण गर्ने, कार्यसम्पादन सम्झौता तथा दण्ड–प्रोत्साहन प्रणाली लागू गर्ने, बेरुजु फर्छ्योटलाई प्राथमिकता दिने, नगरभित्रका सरकारी तथा सार्वजनिक भवनको बीमा गर्ने तथा भवन निर्माणलाई भवन संहिता र मापदण्डअनुसार कार्यान्वयन गर्ने निर्णय गरिएको छ।

    नगरसभाबाट विधायन समिति, लेखा समिति, सुशासन समिति, न्यायिक समिति तथा वन एवं वातावरण समितिलगायत विभिन्न विषयगत समितिका प्रतिवेदन अनुमोदन गरिनुका साथै उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई प्रोत्साहन तथा पुरस्कार प्रदान गर्ने निर्णयलाई पनि स्वीकृति दिइएको छ।

    स्थानीय शासन कार्यसम्पादन मूल्याङ्कनमा पालुङटार नगरपालिकाले प्राप्त गरेको ८७.७५ अंक लाई नगरसभाले अनुमोदन गर्दै आगामी दिनमा सेवा प्रवाह, पारदर्शिता, उत्तरदायित्व तथा विकास निर्माणलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

    नगरसभाको अवसरमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका पदक विजेता खेलाडीहरूलाई सम्मान गरिएको थियो। स्वर्ण, रजत र कांस्य पदक विजेतालाई क्रमशः ७ हजार, ६ हजार र ५ हजार रुपैयाँ नगद पुरस्कारसहित सम्मान गरिएको नगरपालिकाले जनाएको छ।

    नगर प्रमुख विवस चिन्तनले नगरसभाबाट पारित नीति, कार्यक्रम तथा बजेटको प्रभावकारी कार्यान्वयनमार्फत सुशासन, दिगो विकास, आर्थिक समृद्धि तथा नागरिकमैत्री सेवा प्रवाहलाई थप सुदृढ बनाइने बताए। पालुङटार नगरपालिकाको समग्र विकासका लागि जनप्रतिनिधि, कर्मचारी, सरोकारवाला तथा नागरिकबीचको सहकार्य अपरिहार्य रहेको उनको भनाइ थियो।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech