लमजुङ। पाँचौँ राष्ट्रिय ज्येष्ठ नागरिक दिवस २०८२ को अवसरमा बेसीशहर नगरपालिकाले ज्येष्ठ नागरिकको हेरचाह, पालनपोषण तथा स्याहारसुसारमा उल्लेखनीय योगदान पुर्याउँदै आएका हेरचाहकर्तालाई सम्मान गरेको छ।
शुक्रबार आयोजित कार्यक्रममा नगरपालिकाका ११ वटै वडाबाट छनोट भएका ५० जना ज्येष्ठ नागरिक हेरचाहकर्तालाई जनही पाँच हजार रुपैयाँ नगदसहित प्रशंसापत्र प्रदान गरिएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख गुमानसिंह अर्यालले ज्येष्ठ नागरिकको सेवा र सम्मान मानवताको उच्च उदाहरण भएको बताउनुभयो। उहाँले ज्येष्ठ नागरिक समाजका अनुभव, ज्ञान र इतिहासका संवाहक भएकाले उनीहरूको सम्मान, संरक्षण र उचित हेरचाह गर्नु सबैको साझा दायित्व भएको उल्लेख गर्नुभयो।
उपप्रमुख पद्मा गुरुङले परिवार र समाज निर्माणमा ज्येष्ठ नागरिकले पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै उनीहरूको सम्मान र हेरचाहको संस्कृतिलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयो। वडा नं. ८ की वडाध्यक्ष पवित्रा थापा रानाले ज्येष्ठ नागरिकका भावना, आवश्यकता तथा आकांक्षालाई सम्मान गर्दै अघि बढ्न सके समाज अझ सभ्य, सुसंस्कृत र समुन्नत बन्ने विश्वास व्यक्त गर्नुभयो।
नगरस्तरीय ज्येष्ठ नागरिक मञ्चका अध्यक्ष केयरसिंह थापाले सेवा नै मानव धर्म भएको उल्लेख गर्दै ज्येष्ठ नागरिकप्रति परिवार र समाजको दायित्वलाई सदैव प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुमन अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्दै नगरपालिकाले ज्येष्ठ नागरिकको सम्मान, संरक्षण तथा सामाजिक सुरक्षालाई प्राथमिकताका साथ अघि बढाइरहेको जानकारी दिनुभयो।
कार्यक्रम अधिकृत मेघेन्द्र पोख्रेलले कार्यक्रम सञ्चालन गर्दै बेसीशहर नगरपालिकाले ज्येष्ठ नागरिकका हितमा सञ्चालन गरिरहेका कार्यक्रम, ऐन तथा नियमावलीका व्यवस्थाबारे जानकारी गराउनुभएको थियो।
बेसीशहर नगरपालिकाले ज्येष्ठ नागरिकप्रति सम्मानको भावना अभिवृद्धि गर्दै उनीहरूको संरक्षण, सामाजिक सुरक्षा तथा सम्मानजनक जीवनयापन सुनिश्चित गर्न यस्ता कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिइने जनाएको छ।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
लियो क्लब अफ आबुँखैरेनी सिटीको नयाँ कार्यसमिति चयन, अध्यक्षमा मनोज बास्तोला
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण