logo

मंगलबार, साउन १२ २०८३

kantipurpationlinetv

२०८३ साउन १२ मंगलबार

आँबुखैरेनी गाउँपालिकामा सोमबार पनि हाटबजार सञ्चालन हुने

आँबुखैरेनी गाउँपालिकामा सोमबार पनि हाटबजार सञ्चालन हुने


  • आइतबार, भाद्र २१ २०८२
  • 1K
    SHARES

    तनहुँ। आँबुखैरेनी गाउँपालिकाले स्थानीय कृषक र उपभोक्ताको मागलाई मध्यनजर गर्दै हाटबजारको दायरा विस्तार गर्ने भएको छ। हाल प्रत्येक शुक्रबार मात्र सञ्चालन हुँदै आएको हाटबजार अबदेखि सोमबार पनि सञ्चालन हुने भएको हो।

    गाउँपालिका–२ स्थित सिद्धी गणेश टोलको बसपार्क क्षेत्रमा यही भदौ ३० गतेदेखि प्रत्येक सोमबार हाटबजार सञ्चालन हुने गाउँपालिकाले जनाएको छ। हाल गाउँपालिका कार्यालय नजिकै वडा नं. ३ क्षेत्रमा प्रत्येक शुक्रबार हाटबजार सञ्चालन हुँदै आएको छ।

    गाउँपालिका अध्यक्ष शुक्र चुमानका अनुसार स्थानीय उत्पादनको बजारीकरणलाई प्रवर्द्धन गर्न तथा कृषक र उपभोक्तालाई सहज बनाउन दुई स्थानमा हाटबजार सञ्चालन गर्न लागिएको हो।

    उहाँले भन्नुभयो, “हाटबजार स्थानीय कृषकका उत्पादन बिक्रीका लागि प्रभावकारी माध्यम बनेको छ। एक स्थानमा सीमित भएको बजार अब दुई स्थानमा विस्तार हुँदा कृषक र उपभोक्ता दुवैलाई थप सहज हुनेछ।”

    विसं २०८० फागुनदेखि सञ्चालन हुँदै आएको हाटबजारले कृषक र उपभोक्तालाई प्रत्यक्ष रूपमा जोड्दै स्थानीय उत्पादनको बिक्री–वितरणलाई सहज बनाएको गाउँपालिकाले जनाएको छ।

    कृषि शाखा प्रमुख सन्तोष केसीका अनुसार हाटबजारमा स्थानीय मह, गोलभेंडा, सिस्नु, गिठ्ठा, अमला, बेथेको साग, फर्सीको मुन्टा, दही, मोही लगायतका दैनिक उपभोग्य वस्तुहरूको बिक्री वितरण हुँदै आएको छ।

    हाटबजारले स्थानीय उत्पादनलाई सहज बजार उपलब्ध गराएको कृषकहरूको भनाइ छ। कृषक विमला गुरुङले हाटबजारले उत्पादन बिक्रीमा ठूलो सहयोग पुगेको बताउनुभयो भने कृषक सुकमाया चेपाङले अन्यत्रभन्दा यहाँ बिक्री गर्दा राम्रो मूल्य पाउने गरेको अनुभव सुनाउनुभयो।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page