लमजुङ। दोर्दी गाउँपालिकामा प्रथम दोर्दी खेलकुद, कृषि, पर्यटन तथा सांस्कृतिक महोत्सव–२०८२ मंगलबारदेखि सुरु भएको छ। गाउँपालिकाको नौथर शेरास्थित खेलमैदानमा सुरु भएको महोत्सव तीन दिनसम्म सञ्चालन हुनेछ।
महोत्सवको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष युवराज अधिकारीले खेलकुद, कृषि, पर्यटन र संस्कृतिलाई एउटै थलोमा प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको बताउनुभयो। उहाँले यी चारै क्षेत्र एकअर्काका परिपूरक भएकाले तिनको संरक्षण, संवर्द्धन र प्रवर्द्धनमार्फत स्थानीय विकास र समृद्धि हासिल गर्न सकिने धारणा व्यक्त गर्नुभयो।
कार्यक्रममा अर्जुन गुरुङले स्थानीय स्रोत, साधन र संस्कृतिको प्रभावकारी उपयोगमार्फत आर्थिक तथा सामाजिक विकासलाई गति दिन सकिने बताउनुभयो। प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेले लमजुङ प्राकृतिक, सांस्कृतिक तथा पर्यटकीय सम्पदाले सम्पन्न जिल्ला भएकाले यिनको संरक्षण र प्रवर्द्धनबाट समृद्धिको आधार निर्माण गर्न सकिने उल्लेख गर्नुभयो।
कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, उद्योग–वाणिज्य क्षेत्रका प्रतिनिधि तथा सरोकारवालाहरूले महोत्सवको सफलताको शुभकामना व्यक्त गरेका थिए। गाउँपालिका उपाध्यक्ष विच्छबहादुर घलेले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन रोजगार संयोजक धर्मराज गुरुङले गर्नुभएको थियो।
महोत्सवको पहिलो दिन आमा समूहद्वारा प्रस्तुत सांस्कृतिक नृत्य, बालन, मारुनी, सेर्का नाचलगायतका सांस्कृतिक कार्यक्रमसँगै स्थानीय कलाकारहरूको प्रस्तुति आकर्षणको केन्द्र बनेको थियो। साथै स्थानीय स्तरमा उत्पादित अकबरे खुर्सानी, कृषि उपज तथा पशुजन्य उत्पादनको प्रदर्शनी तथा बिक्रीको व्यवस्था गरिएको छ।
महोत्सव उद्घाटनअघि विभिन्न जातीय समुदायका झाँकी, परम्परागत वेशभूषा तथा बाजागाजासहितको र्याली निकालिएको थियो। गाउँपालिकाले महोत्सवले स्थानीय खेलकुद, कृषि उत्पादन, पर्यटन प्रवर्द्धन तथा सांस्कृतिक सम्पदाको संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
लियो क्लब अफ आबुँखैरेनी सिटीको नयाँ कार्यसमिति चयन, अध्यक्षमा मनोज बास्तोला
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण