लमजुङ। दोर्दी गाउँपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि ६७ करोड ७२ लाख ९६ हजार रुपैयाँको बजेट सर्वसम्मत रूपमा पारित गरेको छ।
गाउँसभाको १९औँ अधिवेशनअन्तर्गत असार १० गते बसेको पहिलो बैठकमा प्रस्तुत गरिएको नीति तथा कार्यक्रम, बजेट, आर्थिक विधेयक–२०८३ तथा विनियोजन विधेयक–२०८३ लाई सोमबार सम्पन्न दोस्रो बैठकले सर्वसम्मत रूपमा पारित गरेको हो।
पारित बजेटअनुसार चालु तथा प्रशासनिक खर्चका लागि ८ करोड ६८ लाख ८८ हजार रुपैयाँ विनियोजन गरिएको छ। वडागत चालु तथा पुँजीगत कार्यक्रमका लागि ३ करोड ८३ लाख ५० हजार रुपैयाँ, स्वास्थ्य तथा आयुर्वेद सेवाका लागि ५४ लाख ४६ हजार रुपैयाँ, शिक्षा, युवा तथा खेलकुद क्षेत्रका लागि ७४ लाख ९५ हजार रुपैयाँ, कृषि तथा पशुपन्छी विकास कार्यक्रमका लागि ४८ लाख रुपैयाँ तथा महिला, बालबालिका, दलित, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलक्षित कार्यक्रमका लागि २८ लाख ९५ हजार रुपैयाँ छुट्याइएको छ।
त्यस्तै, न्यायिक समितिको सचिवालय तथा कानुन व्यवस्थापनका लागि ३ लाख ५० हजार रुपैयाँ, वन, वातावरण, विपद् व्यवस्थापन, पुनःस्थापना, राहत तथा उद्धार कार्यक्रमका लागि ६२ लाख ५० हजार रुपैयाँ तथा समपूरक कोषका लागि ३ करोड रुपैयाँ विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ।
बजेटका स्रोतअन्तर्गत संघीय सरकारबाट प्राप्त हुने सशर्त चालु अनुदान २७ करोड ८० लाख रुपैयाँ, सशर्त पुँजीगत अनुदान ३० लाख रुपैयाँ, विशेष अनुदान १ करोड ५५ लाख रुपैयाँ तथा समपूरक अनुदान १ करोड ५० लाख रुपैयाँ समावेश गरिएको छ। प्रदेश सरकारबाट समपूरक अनुदानतर्फ ६० लाख रुपैयाँ र विशेष अनुदानतर्फ ४० लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। साथै गाउँपालिका स्तरीय योजना तथा कार्यक्रम सञ्चालनका लागि १७ करोड ३३ लाख २२ हजार रुपैयाँ विनियोजन गरिएको छ।
गाउँसभामा चालु आर्थिक वर्ष २०८२/८३ को वित्तीय प्रगति विवरण पनि प्रस्तुत गरिएको थियो। गाउँपालिकाका अनुसार जेठ मसान्तसम्म ८६ लाख ३९ हजार रुपैयाँ आन्तरिक राजस्व संकलन भएको छ भने चालुतर्फ विनियोजित बजेटको ६९.४३ प्रतिशत र पुँजीगततर्फ ३०.७७ प्रतिशत खर्च भएको छ। हालसम्म कुल ३४ करोड ८ लाख ३५ हजार रुपैयाँ, अर्थात् ५७.३० प्रतिशत बजेट खर्च भएको गाउँपालिकाले जनाएको छ।
यसै बैठकबाट आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम, आर्थिक विधेयक–२०८३, विनियोजन विधेयक–२०८३, न्यायिक समितिको वार्षिक प्रतिवेदन तथा लेखा समितिको प्रतिवेदन समेत सर्वसम्मत रूपमा पारित गरिएको छ।
गाउँपालिका अध्यक्ष युवराज अधिकारीको अध्यक्षतामा सम्पन्न गाउँसभा बैठकमा उपाध्यक्ष विच्छबहादुर घले, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्षहरू, कार्यपालिका सदस्य, गाउँसभा सदस्य तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण
-
बेरुजू आउनु भनेको सबै भ्रष्टाचार होइन : आँबुखैरेनी अध्यक्ष चुमान