लमजुङ। दोर्दी गाउँपालिकाले ग्रामीण पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘एक वडा, एक रात, एक छाक’ कार्यक्रम सञ्चालनमा ल्याएको छ। आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रमअन्तर्गत सुरु गरिएको उक्त अभियान होमस्टे पर्यटनलाई प्रवर्द्धन गर्दै स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने लक्ष्यका साथ अघि बढाइएको गाउँपालिकाले जनाएको छ।
कार्यक्रमको सुरुवात वडा नं. ८ को खिन्चोक गाउँबाट गरिएको हो। होमस्टे प्रवर्द्धनसम्बन्धी अन्तरक्रिया कार्यक्रमसँगै अभियानको शुभारम्भ गरिएको गाउँपालिका अध्यक्ष युवराज अधिकारीले जानकारी दिनुभयो।
उहाँका अनुसार होमस्टे सञ्चालनमा रहेका वडाहरूमा चालु आर्थिक वर्षदेखि ‘एक वडा, एक रात, एक छाक’ कार्यक्रम लागू गरिनेछ। यसअन्तर्गत गाउँपालिकाको कार्यपालिका बैठक होमस्टे गाउँमै आयोजना गर्ने, विभिन्न सामाजिक संघसंस्थाका कार्यक्रम तथा बैठक होमस्टे क्षेत्रमा सञ्चालन गर्न प्रोत्साहन गर्ने, आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने गतिविधि सञ्चालन गर्ने लगायतका कार्यक्रम समावेश गरिएका छन्।
अध्यक्ष अधिकारीले पर्यटन, कृषि र जलविद्युत दोर्दी गाउँपालिकाको समृद्धिका प्रमुख आधार भएको उल्लेख गर्दै स्थानीय समुदायको सक्रिय सहभागितामार्फत पर्यटन क्षेत्रलाई थप व्यवस्थित र प्रभावकारी बनाइने बताउनुभयो। उहाँले पर्यटन विकासका लागि गाउँपालिकाले शून्य बिन्दुबाट योजनाबद्ध रूपमा काम सुरु गरेको भन्दै सबै स्थानीयको सहयोग आवश्यक रहेको धारणा राख्नुभयो।
गाउँपालिका उपाध्यक्ष विच्छबहादुर घलेले कृषि र पर्यटनलाई व्यावसायिक रूपमा विकास गर्न सके गाउँपालिकाको आर्थिक समृद्धिमा उल्लेखनीय योगदान पुग्ने बताउनुभयो। प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्लेले होमस्टे सञ्चालन, व्यवस्थापन, पूर्वाधार विकास तथा क्षमता अभिवृद्धिका लागि गाउँपालिका निरन्तर सहयोग गर्न प्रतिबद्ध रहेको जानकारी दिनुभयो।
हाल दोर्दी गाउँपालिकामा वडा नं. २ को सल्लाबोट, वडा नं. ३ को श्रीमञ्ज्याङ लामागाउँ, वडा नं. ६ को ताँजे, वडा नं. ७ को लप्सीबोट–दैलुङ, वडा नं. ८ का टाप गाउँ र खिन्चोक तथा वडा नं. ९ को माझगाउँ गरी सात वटा सामुदायिक होमस्टे सञ्चालनमा रहेका छन्। गाउँपालिकाका रोजगार संयोजक धर्मराज गुरुङका अनुसार करिब ५० घरमा सञ्चालित होमस्टेमा एकैपटक २२५ भन्दा बढी पर्यटकलाई आतिथ्यता प्रदान गर्न सकिने क्षमता रहेको छ।
कार्यक्रमका क्रममा होमस्टे सञ्चालन तथा व्यवस्थापन, पाहुना सत्कार, अर्गानिक खानपान, सरसफाइ, सेवा गुणस्तर तथा आवश्यक भौतिक पूर्वाधार विकासका विषयमा स्थानीयसँग अन्तरक्रिया गरिएको थियो।
कार्यक्रममा वडा नं. ९ का वडाध्यक्ष आशिष तामाङ, कार्यपालिका सदस्य अम्बिका मरहट्टा, लेखा अधिकृत ताराचन्द्र ढकाल, प्रशासकीय अधिकृत ससबहादुर पुन, जनप्रतिनिधि, कर्मचारी, आमा समूह, युवा क्लब, बुद्धिजीवी तथा स्थानीयवासीको सहभागिता रहेको थियो।
यस अवसरमा ऐतिहासिक तथा पर्यटकीय मेमे पोखरीमा जनैपूर्णिमाका अवसरमा पुग्ने पर्यटकहरूको सफल यात्राको शुभकामना व्यक्त गरिएको थियो। कार्यक्रमको सञ्चालन रोजगार संयोजक धर्मराज गुरुङले गर्नुभएको थियो।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
लियो क्लब अफ आबुँखैरेनी सिटीको नयाँ कार्यसमिति चयन, अध्यक्षमा मनोज बास्तोला
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण