logo

बिहिबार, साउन १४ २०८३

kantipurpationlinetv

२०८३ साउन १४ बिहिबार

दोर्दी र मर्स्याङ्दी गाउँपालिकामा विशेषज्ञसहितको टेलिमेडिसिन सेवा सञ्चालन हुने

दोर्दी र मर्स्याङ्दी गाउँपालिकामा विशेषज्ञसहितको टेलिमेडिसिन सेवा सञ्चालन हुने


  • शुक्रबार, बैशाख २५ २०८३
  • 0.9K
    SHARES

    लमजुङ। लमजुङका दोर्दी र मर्स्याङ्दी गाउँपालिकाले प्रदेश अस्पताल लमजुङसँगको सहकार्यमा ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकलाई विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले टेलिमेडिसिन सेवा सञ्चालन गर्ने भएका छन्। यसका लागि दुवै गाउँपालिका र प्रदेश अस्पतालबीच सहकार्यसम्बन्धी सम्झौता भएको छ।

    सम्झौताअनुसार पालिकामा रहेका स्वास्थ्य संस्थाबाट टेलिमेडिसिन प्रणालीमार्फत प्रदेश अस्पतालका विशेषज्ञ चिकित्सकसँग प्रत्यक्ष परामर्श, रोग निदान तथा उपचार सेवा उपलब्ध गराइनेछ। यसबाट उपचारका लागि जिल्ला सदरमुकाम वा अन्य सहर धाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।

    मर्स्याङ्दी गाउँपालिकाले आगामी जेठ महिनाभित्र आवश्यक उपकरण व्यवस्थापन गरी खुदी स्वास्थ्य चौकीबाट टेलिमेडिसिन सेवा सञ्चालन गर्ने तयारी गरेको जनाएको छ। साथै प्रत्येक महिनामा एकपटक प्रदेश अस्पतालका विशेषज्ञ चिकित्सकले खुदी स्वास्थ्य चौकीमै पुगेर स्वास्थ्य परीक्षण, परामर्श तथा उपचार सेवा प्रदान गर्ने व्यवस्था मिलाइएको छ।

    यस्तै, दोर्दी गाउँपालिकाले पालिका अस्पतालमार्फत प्रदेश अस्पतालसँगको सहकार्यमा मासिक रूपमा विशेषज्ञ स्वास्थ्य सेवा सञ्चालन गर्ने तयारी गरेको छ। हाल श्रीमञ्ज्याङ स्वास्थ्य चौकीबाट टेलिमेडिसिन सेवा सुरु गरिएको गाउँपालिका अध्यक्ष युवराज अधिकारीले जानकारी दिनुभयो।

    उहाँका अनुसार पालिकावासीको आवश्यकता अनुसार क्रमशः सबै वडास्थित स्वास्थ्य संस्थाबाट टेलिमेडिसिन सेवा विस्तार गरिनेछ। त्यसका लागि आवश्यक उपकरण तथा प्राविधिक पूर्वाधार व्यवस्थापन गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो।

    सम्झौतापत्रमा मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङ, दोर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारी तथा प्रदेश अस्पताल लमजुङका मेडिकल सुपरिटेन्डेन्ट डा. शिशिर देवकोटाले हस्ताक्षर गर्नुभएको थियो।

    सम्झौता कार्यक्रममा मर्स्याङ्दी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विज्ञान पौडेल, दोर्दी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्ले, प्रदेश अस्पताल व्यवस्थापन समितिका अध्यक्ष विजय गुरुङ, अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो।

    दुवै गाउँपालिकाले न्यूनतम खर्चमा गुणस्तरीय र विशेषज्ञ स्वास्थ्य सेवा नागरिकको पहुँचमा पुर्‍याउने लक्ष्यका साथ टेलिमेडिसिन सेवा विस्तार गर्न लागेको जनाएका छन्। यसबाट ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकले स्थानीय स्वास्थ्य संस्थामै विशेषज्ञ चिकित्सकको परामर्श तथा उपचार सेवा सहज रूपमा प्राप्त गर्ने विश्वास लिइएको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page