लमजुङ। दोर्दी गाउँपालिकाको आयोजनामा सम्पन्न आठौँ दोर्दी गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ मा अर्चलबोटस्थित लक्ष्मीनारायण माध्यमिक विद्यालय समग्रतर्फ प्रथम भएको छ।
मंसिर ४ देखि ६ गतेसम्म सञ्चालन भएको तीनदिने प्रतियोगितामा गाउँपालिकाभित्रका विभिन्न विद्यालयका सयौँ विद्यार्थीले एथलेटिक्स तथा अन्य खेल विधामा प्रतिस्पर्धा गरेका थिए। प्रतियोगिताले विद्यालयस्तरमा खेलकुदको विकास, स्वस्थ प्रतिस्पर्धा र विद्यार्थीमा खेल प्रतिभाको पहिचान तथा प्रवर्द्धन गर्ने उद्देश्य पूरा गरेको गाउँपालिकाले जनाएको छ।
प्रतियोगितामा लक्ष्मीनारायण माध्यमिक विद्यालयले १२ स्वर्ण, ६ रजत र ८ कास्य गरी कुल २६ पदक जित्दै प्रथम स्थान हासिल गरेको हो। त्यसैगरी वन्सारस्थित फलेनी माध्यमिक विद्यालय १० स्वर्ण र ४ रजत सहित दोस्रो तथा श्रीमञ्ज्याङस्थित लक्ष्मी माध्यमिक विद्यालय २ स्वर्ण, ९ रजत र ५ कास्य सहित तेस्रो स्थानमा रह्यो।
समापन समारोहमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यालय, विद्यार्थी तथा प्रशिक्षकलाई ट्रफी, पदक र प्रमाणपत्र प्रदान गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष युवराज अधिकारीले खेलकुदले अनुशासन, नेतृत्व क्षमता र स्वस्थ जीवनशैलीको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउँदै विद्यालयस्तरबाट खेल प्रतिभा उत्पादनका लागि गाउँपालिका प्रतिबद्ध रहेको बताउनुभयो। आगामी वर्षहरूमा प्रतियोगितालाई अझ व्यवस्थित, प्रतिस्पर्धात्मक र सहभागितामूलक बनाइने उहाँले जानकारी दिनुभयो।
दोर्दी गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका अनुसार प्रतियोगिताले विद्यालयहरूबीच आपसी सद्भाव, सहकार्य र खेल संस्कृतिको विकासमा सकारात्मक योगदान पुर्याएको छ।
समापन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष विच्छबहादुर घले, प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्ले, वडाध्यक्षहरू, कार्यपालिका सदस्य, विषयगत शाखाका प्रमुख, विद्यालयका प्रधानाध्यापक तथा शिक्षक, खेलकुद विकास समितिका पदाधिकारी, स्थानीयवासी र विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
लियो क्लब अफ आबुँखैरेनी सिटीको नयाँ कार्यसमिति चयन, अध्यक्षमा मनोज बास्तोला
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण