logo

आइतबार, साउन १७ २०८३

kantipurpationlinetv

२०८३ साउन १७ आइतबार

क्व्होलासोंथारमा अन्तर माध्यमिक विद्यालय शैक्षिक सामग्री प्रदर्शनी मेला सम्पन्न

क्व्होलासोंथारमा अन्तर माध्यमिक विद्यालय शैक्षिक सामग्री प्रदर्शनी मेला सम्पन्न


  • बुधबार, असार ३ २०८३
  • 1.1K
    SHARES

    लमजुङ। क्व्होलासोंथार गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा ‘अन्तर माध्यमिक विद्यालय शैक्षिक सामग्री प्रदर्शनी मेला–२०८३’ मालिङमा सम्पन्न भएको छ।

    गाउँपालिकाभित्र रहेका नौवटा माध्यमिक विद्यालयको सहभागिता रहेको प्रदर्शनीमा विद्यार्थी तथा शिक्षकहरूले तयार गरेका सिर्जनात्मक, नवप्रवर्तनात्मक तथा व्यवहारिक शैक्षिक सामग्री प्रदर्शन गरिएको थियो। प्रदर्शनीमार्फत विद्यालयमा सञ्चालन भइरहेका सिकाइ अभ्यास, विद्यार्थीहरूको सिर्जनशीलता तथा व्यवहारिक ज्ञानलाई प्रस्तुत गरिएको गाउँपालिकाले जनाएको छ।

    कार्यक्रम गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद वाग्लेको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

    कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष गुरुङले शैक्षिक सामग्री प्रदर्शनीले विद्यार्थीको सिर्जनशीलता, नवप्रवर्तन क्षमता र व्यवहारिक सिकाइलाई प्रोत्साहन गर्ने महत्वपूर्ण माध्यमका रूपमा काम गर्ने बताउनुभयो। उहाँले पाठ्यपुस्तकमा आधारित शिक्षासँगै अनुसन्धान, खोजमूलक तथा व्यवहारिक शिक्षालाई विद्यालयस्तरमै प्रवर्द्धन गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने उल्लेख गर्दै गुणस्तरीय शिक्षाको विकासका लागि गाउँपालिकाले आवश्यक सहयोग र प्रोत्साहनलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

    कार्यक्रममा वडा नं. २ का वडाध्यक्ष खुसीमान गुरुङ, प्रशासकीय अधिकृत सुमन पौडेल, विभिन्न शाखाका प्रमुख, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक, शिक्षक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

    प्रदर्शनी प्रतियोगितामा शारदा माध्यमिक विद्यालय, मालिङ प्रथम हुँदै रु. ३० हजार नगद र प्रमाणपत्र, घले उत्तरकन्या माध्यमिक विद्यालय, बगुम द्वितीय हुँदै रु. २५ हजार नगद र प्रमाणपत्र, तथा श्री सूर्योदय माध्यमिक विद्यालय, घाम्राङ तृतीय हुँदै रु. २० हजार नगद र प्रमाणपत्र प्राप्त गर्न सफल भएका छन्।

    गाउँपालिकाका अनुसार प्रदर्शनी मेलाले विद्यालयहरूबीच स्वस्थ प्रतिस्पर्धा, अनुभव आदानप्रदान तथा गुणस्तरीय शिक्षाको प्रवर्द्धनमा सकारात्मक योगदान पुर्‍याएको छ। आगामी दिनमा पनि यस्ता सिर्जनात्मक तथा सिकाइमुखी कार्यक्रमलाई निरन्तरता दिइने गाउँपालिकाले जनाएको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page