काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुल दर पुनरावलोकनका लागि समिति गठन गरेको छ। उत्पादित विद्युत्को अधिकतम उपयोग सुनिश्चित गर्दै गार्हस्थ उपभोक्तालाई सहुलियत तथा उत्पादनमूलक उद्योगलाई उपयुक्त महसुल दरमा विद्युत् उपलब्ध गराउने उद्देश्यले समिति गठन गरिएको हो।
बुधबार बसेको नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले नयाँ विद्युत् महसुल संरचनाबारे अध्ययन गरी सिफारिस गर्न ‘विद्युत् महसुल पुनरावलोकन समिति’ गठन गर्ने निर्णय गरेको हो। समितिलाई १५ दिनभित्र प्रतिवेदन बुझाउने कार्यादेश दिइएको छ।
प्राधिकरण सञ्चालक समितिका सदस्य अंशु किरण शाहीको संयोजकत्वमा गठित समितिमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका एक प्रतिनिधि, नेपाल उद्योग वाणिज्य महासंघका एक प्रतिनिधि तथा ऊर्जा, उपभोक्ता र वित्त क्षेत्रका तीन विज्ञ सदस्य रहनेछन्। वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक सदस्य–सचिव रहने व्यवस्था गरिएको छ।
समितिले विशेषगरी वर्षायाम र हिउँदका लागि फरक महसुल दर निर्धारण गर्ने ‘सिजनल ट्यारिफ’ तथा समयअनुसार लागू हुने ‘टाइम अफ डे (TOD)’ महसुल प्रणालीबारे अध्ययन गर्नेछ। साथै, अतिरिक्त विद्युत्को आन्तरिक खपत बढाउन उद्योग तथा गार्हस्थ उपभोक्तालाई सहुलियत दरमा विद्युत् उपलब्ध गराउने विषयमा पनि सिफारिस गर्ने अपेक्षा गरिएको छ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार वर्षायाममा उत्पादन हुने विद्युत् पर्याप्त मात्रामा खपत हुन नसक्दा ऊर्जा खेर जाने र आर्थिक भार बढ्ने अवस्था रहेकाले त्यसलाई न्यूनीकरण गर्न महसुल संरचना पुनरावलोकन आवश्यक ठानिएको हो। समितिले विद्युत् नियमन आयोग र अर्थ मन्त्रालयसँग आवश्यक समन्वय गरी उपभोक्ता तथा उद्योगमैत्री महसुल दरबारे सुझाव पेश गर्नेछ।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण
-
चाँगुनारायणमा स्वास्थ्य संस्था र फार्मेसीको संयुक्त अनुगमन, नियमविपरीत सञ्चालनमा कारबाहीको चेतावनी