logo

बिहिबार, साउन १४ २०८३

kantipurpationlinetv

२०८३ साउन १४ बिहिबार

सुनसरी घटनाप्रति पूर्वराजा ज्ञानेन्द्रको चिन्ता, सामाजिक सद्भाव कायम राख्न आग्रह

सुनसरी घटनाप्रति पूर्वराजा ज्ञानेन्द्रको चिन्ता, सामाजिक सद्भाव कायम राख्न आग्रह


  • बिहिबार, साउन १४ २०८३
  • 1.2K
    SHARES

    काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाहले सुनसरी जिल्लाका विभिन्न गाउँबस्तीमा भएको आपसी द्वन्द्व र त्यसबाट उत्पन्न अशान्तिप्रति गहिरो चिन्ता व्यक्त गरेका छन्।

    साउन १४ गते निर्मल निवासस्थित संवाद सचिवालयमार्फत जारी गरेको सद्भाव सन्देशमा उनले नेपाल सामाजिक, धार्मिक र सांस्कृतिक सहिष्णुताको परिचय बोकेको देश भएकाले यस्ता घटना राष्ट्रिय एकताका लागि चिन्ताको विषय भएको बताएका छन्।

    पूर्वराजा शाहले सुनसरीमा भएको विवादका कारण जनधनको क्षति हुनुका साथै त्यसको प्रभाव कोशी क्षेत्र र तराईका अन्य जिल्लासम्म फैलिएको खबरले आफूलाई दुःखी बनाएको उल्लेख गरेका छन्।

    सन्देशमा भनिएको छ, ‘समाजका सबै समुदायमा सामञ्जस्य रहेको देशका रूपमा सुपरिचित नेपालमा यस प्रकारका अवाञ्छित घटना र दुर्घटना घट्नु चिन्ताको विषय हो। यो हाम्रो मौलिक मूल्य र मान्यता विपरीतको विषय हो।’

    नेपालको पहिचान बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विविधतामा आधारित रहेको उल्लेख गर्दै उनले यही विविधताबीचको एकता नै नेपालको शक्ति भएको बताएका छन्।

    ‘हामी नेपालीहरू नेपाल निर्माणको सुरुवाती समयदेखि नै परस्पर मिलिजुली, हाँसीखुसी एकअर्कामा माया–प्रीति गाँसी बसेका जातजाति हौँ। कोही कसैबाट यसमा खलल पार्ने काम हुनु हुँदैन,’ सन्देशमा उल्लेख छ।

    पूर्वराजा शाहले नेपालको धार्मिक, सांस्कृतिक र सामाजिक सहिष्णुताले नै अन्तर्राष्ट्रिय समुदायमा नेपाललाई विशिष्ट पहिचान दिलाएको उल्लेख गर्दै देशका सबै नागरिकलाई संयम अपनाउन र सामाजिक सद्भाव कायम राख्न आग्रह गरेका छन्।

    ‘जुनसुकै भू–भागमा रहे बसेका जो कोही पनि हामी नेपाली मिलौँ, हाम्रो यही आग्रह छ र यही आजको आवश्यकता हो,’ उनले सन्देशमार्फत आह्वान गरेका छन्।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page