logo

बुधबार, साउन २० २०८३

kantipurpationlinetv

२०८३ साउन २० बुधबार

छेपेटारको ज्येष्ठ नागरिक आश्रम पाँच वर्ष मानव सेवा आश्रमले सञ्चालन गर्ने

छेपेटारको ज्येष्ठ नागरिक आश्रम पाँच वर्ष मानव सेवा आश्रमले सञ्चालन गर्ने


  • मंगलबार, साउन १९ २०८३
  • 1.9K
    SHARES

    गोरखा । गोरखा नगरपालिका–१० छेपेटारमा निर्माण सम्पन्न भएको गण्डकी प्रदेश ज्येष्ठ नागरिक आश्रम आगामी पाँच वर्षका लागि मानव सेवा आश्रम, हेटौंडाले सञ्चालन गर्ने भएको छ।

    गण्डकी प्रदेश सरकारअन्तर्गत सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय मातहतको एकीकृत सेवा कार्यालय, गोरखा र मानव सेवा आश्रम, हेटौंडा, मकवानपुरबीच मंगलबार आश्रम सञ्चालनसम्बन्धी सम्झौता भएको हो। सम्झौतामा गोरखा नगरपालिका–१० छेपेटारस्थित आश्रम भवन सञ्चालन तथा उपयोगसम्बन्धी व्यवस्था गरिएको छ।

    सम्झौताअनुसार एकीकृत सेवा कार्यालय गोरखा पहिलो पक्ष र मानव सेवा आश्रम, हेटौंडा दोस्रो पक्ष रहेका छन्। पहिलो पक्षका तर्फबाट निमित्त कार्यालय प्रमुख दशरथ शर्मा र दोस्रो पक्षका तर्फबाट मानव सेवा आश्रमकी प्रतिनिधि **निता के.सी.**ले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। सम्झौतामा गोरखा नगरपालिका–१० का वडा अध्यक्ष प्रदीप कुँवर, एकीकृत सेवा कार्यालय गोरखाका प्रतिनिधि तथा मानव सेवा आश्रमका प्रतिनिधि रोहवर बसेका छन्।

    गण्डकी प्रदेश ज्येष्ठ नागरिक आश्रम सञ्चालन कार्यविधि, २०८२ अनुसार सञ्चालन हुने आश्रममा ६० वर्ष वा सोभन्दा माथिका असहाय तथा अशक्त ज्येष्ठ नागरिकलाई सेवा प्रदान गरिनेछ। जीवनयापनको कुनै आधार, आयस्रोत वा सम्पत्ति नभएका, पालनपोषण गर्ने परिवारको सदस्य नभएका वा परिवार भएर पनि उपेक्षित जीवन बिताउन बाध्य भएका ज्येष्ठ नागरिक आश्रमका प्राथमिक लाभग्राही हुने सम्झौतामा उल्लेख छ।

    सम्झौताअनुसार मानव सेवा आश्रमले ज्येष्ठ नागरिकको उद्धार, संरक्षण, सुरक्षित आवास, स्वास्थ्य उपचार, हेरचाह तथा आवश्यक परे पारिवारिक पुनर्मिलनसम्मका सेवा सञ्चालन गर्नेछ। साथै, आश्रम भवनको प्रभावकारी उपयोग गर्दै लक्षित वर्गलाई सम्मानजनक जीवनयापनको वातावरण सुनिश्चित गर्ने जिम्मेवारी पनि संस्थाको रहनेछ।

    यस्तै, एकीकृत सेवा कार्यालय गोरखाले छेपेटारस्थित आश्रम भवन तथा त्यसमा रहेका सामग्रीहरू यथास्थितिमा सञ्चालनका लागि उपलब्ध गराउने, आवश्यक अनुगमन गर्ने तथा कार्यविधिअनुसार समन्वय गर्ने जिम्मेवारी वहन गर्नेछ।

    गण्डकी प्रदेश सरकारले निर्माण गरेको उक्त आश्रम सञ्चालनमा आएपछि गोरखा तथा आसपासका जिल्लाका असहाय, अभिभावकविहीन र संरक्षणको आवश्यकता भएका ज्येष्ठ नागरिकले सुरक्षित आवास, नियमित हेरचाह, स्वास्थ्य सेवा र सम्मानजनक वातावरणमा जीवनयापन गर्ने अवसर पाउने अपेक्षा गरिएको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page