logo

बुधबार, साउन २७ २०८३

kantipurpationlinetv

२०८३ साउन २७ बुधबार

काठमाडौं महानगरका नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत अर्यालले सम्हाले जिम्मेवारी

काठमाडौं महानगरका नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत अर्यालले सम्हाले जिम्मेवारी


  • बुधबार, साउन २७ २०८३
  • 1.2K
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले पदबहाली गरेका छन्। पदबहालीसँगै कार्यवाहक प्रमुख सुनिता डंगोलले अर्यालबाट महानगरको सेवा प्रवाह, सुशासन तथा चालु आर्थिक वर्षका नीति, योजना र कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा नतिजामूलक नेतृत्वको अपेक्षा गरेकी छन्।

    पदबहालीपछि भेटका लागि कार्यकक्षमा पुगेका अर्याललाई स्वागत गर्दै कार्यवाहक प्रमुख डंगोलले कर्मचारी परिचालन र व्यवस्थापनमा समन्वयकारी नेतृत्व आवश्यक रहेको बताइन्।

    उनले महानगरका ठूला आयोजना तथा प्राथमिकताका कामलाई गति दिन संघीय सरकारसँग प्रभावकारी समन्वय गर्नुपर्नेमा जोड दिइन्। बहुतले पार्किङ निर्माण, भृकुटीमण्डपमा मेगाहल निर्माण तथा नेपाल सरकारसँग भएका सम्झौताअनुसार महानगरले प्राप्त गर्नुपर्ने सम्पत्ति हस्तान्तरणलगायतका विषयमा समन्वय आवश्यक रहेको उनको भनाइ थियो।

    ‘सेवा प्रवाह र अनुशासित तथा मर्यादित कर्मचारी प्रशासनका लागि समन्वयकारी नेतृत्व आवश्यक छ,’ डंगोलले भनिन्, ‘केही योजना अपेक्षित गतिमा अघि बढ्न सकेका छैनन्। त्यस्ता योजनालाई तीव्र रूपमा सञ्चालन गर्नुपर्नेछ।’

    अर्यालको कार्यकाल महानगरवासीका लागि फलदायी हुने र महानगरपालिकाको सार्वजनिक छवि थप उचो बनाउन योगदान पुग्ने डंगोलले विश्वास व्यक्त गरिन्।

    वि.सं. २०६६ सालमा शाखा अधिकृतबाट निजामती सेवामा प्रवेश गरेका अर्याल २०७३ सालमा उपसचिव र २०८० सालमा सहसचिव भएका हुन्। उनी पछिल्लो एक वर्षदेखि पोखरा महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत थिए। यसअघि उनले लुम्बिनी प्रदेशको रेसुङ्गा नगरपालिकामा समेत प्रमुख प्रशासकीय अधिकृतका रूपमा काम गरेका थिए।

    मन्त्रिपरिषद्को साउन २० गतेको निर्णयअनुसार अर्याल पोखरा महानगरपालिकाबाट काठमाडौं महानगरपालिकामा सरुवा भएका हुन्।

    यसै अवसरमा आयोजित परिचयात्मक कार्यक्रममा अर्यालले काठमाडौं महानगरपालिकालाई स्थानीय सुशासन, स्वशासन, विकास र व्यवस्थापनका क्षेत्रमा सिकाइको केन्द्रका रूपमा स्थापित गर्ने गरी कर्मचारी प्रशासनको नेतृत्व गर्ने बताए।

    उनले महानगरपालिकाका कामलाई अन्य स्थानीय तहले समेत सिक्न सक्ने गरी व्यवस्थित र अनुकरणीय बनाउनुपर्नेमा जोड दिए। कर्मचारीको तटस्थता र आचार–आचरणलाई प्राथमिकतामा राख्दै सामूहिक निर्णय र सेवाग्राहीको आवश्यकताका आधारमा कार्यक्रम कार्यान्वयनमा लैजाने उनको भनाइ थियो।

    यसअघि सरोज गुरागाईं काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत थिए। उमेर हदका कारण उनी साउन २० गते अनिवार्य अवकाशमा गएपछि अर्याललाई नयाँ प्रमुख प्रशासकीय अधिकृतका रूपमा जिम्मेवारी दिइएको हो।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page