logo

शनिबार, साउन ३० २०८३

kantipurpationlinetv

२०८३ साउन ३० शनिबार

कीर्तिपुरमा बृहत् सरसफाइ अभियान, समाजसेवीदेखि विद्यार्थीको उत्साहजनक सहभागिता

कीर्तिपुरमा बृहत् सरसफाइ अभियान, समाजसेवीदेखि विद्यार्थीको उत्साहजनक सहभागिता


  • शनिबार, साउन ३० २०८३
  • 77
    SHARES

    कीर्तिपुर । कीर्तिपुर क्षेत्रलाई स्वच्छ, सुन्दर र व्यवस्थित बनाउने उद्देश्यले कीर्तिपुर क्लिन–अप अभियानको आयोजनामा बृहत् सरसफाइ कार्यक्रम सम्पन्न भएको छ।

    ‘आफू परिवर्तन भए मात्र अरूमा पनि परिवर्तन ल्याउन सकिन्छ, स्वच्छ वातावरण, स्वच्छ जीवन’ भन्ने मूल नाराका साथ सञ्चालित अभियानअन्तर्गत ऐतिहासिक बाघभैरव मन्दिर, उमामहेश्वर मन्दिरलगायत कीर्तिपुरका विभिन्न स्थानमा सरसफाइ गरिएको हो।

    सरसफाइ कार्यक्रममा समाजसेवी, बुद्धिजीवी, सुरक्षाकर्मी, शिक्षक, विद्यार्थी, उद्योगी–व्यवसायी तथा स्थानीय नागरिकको उल्लेखनीय सहभागिता रहेको थियो। विभिन्न क्षेत्रका व्यक्तिहरूको सामूहिक सहभागिताले सार्वजनिक स्थानको सरसफाइसँगै वातावरण संरक्षणप्रति नागरिक उत्तरदायित्वको सन्देशसमेत दिएको आयोजकले जनाएको छ।

    अभियानका क्रममा सार्वजनिक स्थलमा फोहोर नगर्ने, वातावरणीय स्वच्छता कायम गर्ने तथा आफ्नो टोल–समुदायको सरसफाइमा आफैं सक्रिय हुनुपर्नेमा सहभागीहरूले जोड दिएका थिए। आयोजकका अनुसार सरसफाइ अभियान केवल एकदिने कार्यक्रम नभई नागरिकको दैनिक व्यवहार र जिम्मेवारीसँग जोडिनुपर्ने विषय हो।

    कीर्तिपुर क्लिन–अप अभियानका संयोजकहरू नीरोज जङ्ग बिष्ट, महेश थापा, सुनील भट्ट, लोकेन्द्र साउद, अर्जुन आचार्य र कपिल जोशी लगायतले अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिने बताएका छन्। उनीहरूले स्वच्छ र व्यवस्थित कीर्तिपुर निर्माणका लागि सबै पक्षको निरन्तर सहयोग र सहभागिता आवश्यक रहेको बताए।

    कार्यक्रम सफल बनाउन आर्थिक तथा सरसफाइका लागि आवश्यक सामग्री सहयोग गर्ने कपडा अड्डा कीर्तिपुर, चिया दोबाटो क्याफे एन्ड किचन, समाजसेवी अर्जुन आचार्य, सुदूरपश्चिम मोबाइल सेन्टर, प्रहरी वृत्त कीर्तिपुर, कीर्तिपुर नगरपालिका–९, नमस्कार इन्स्टिच्युट तथा एफयूजीआई इन्टरनेसनल कन्सल्टेन्सी लगायत संस्था तथा व्यक्तिप्रति आयोजकले आभार व्यक्त गरेको छ।

    आयोजकले आगामी दिनमा वातावरण संरक्षण तथा सामाजिक उत्तरदायित्वसँग सम्बन्धित अभियानलाई थप व्यापक बनाउँदै लैजाने जनाएको छ। स्वच्छ कीर्तिपुर निर्माण कुनै एक व्यक्ति वा संस्थाको मात्र नभई सम्पूर्ण नागरिकको साझा जिम्मेवारी भएकाले अभियानमा निरन्तर साथ र सहभागिताका लागि समेत आग्रह गरिएको छ।

    ‘स्वच्छ कीर्तिपुर, सुन्दर कीर्तिपुर—हाम्रो कीर्तिपुर, हाम्रो जिम्मेवारी’ भन्ने सन्देशका साथ सम्पन्न अभियानले नागरिकस्तरबाट सञ्चालन हुने सामूहिक पहलले शहरको सरसफाइ र वातावरण संरक्षणमा सकारात्मक प्रभाव पार्न सक्ने सन्देश दिएको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page