logo

आइतबार, साउन ३१ २०८३

kantipurpationlinetv

२०८३ साउन ३१ आइतबार

नाट्टा अध्यक्षमा भरतजंग पाण्डे विजयी

नाट्टा अध्यक्षमा भरतजंग पाण्डे विजयी


  • आइतबार, साउन ३१ २०८३
  • 1.4K
    SHARES

    काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)को अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन्। नाट्टाको ५९औँ वार्षिक साधारणसभा तथा नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनमा दुई प्रतिस्पर्धीलाई पछि पार्दै पाण्डे अध्यक्षमा निर्वाचित भएका हुन्।

    अध्यक्ष पदका लागि भएको निर्वाचनमा पाण्डेले १८८ मत प्राप्त गरे। उनका निकटतम प्रतिस्पर्धी युविका भण्डारीले १५८ तथा जिश्वा तुलाधर श्रेष्ठले १०६ मत प्राप्त गरिन्।

    नाट्टाको नयाँ कार्यसमितिमा पाण्डे समूहले अधिकांश पदमा जित हासिल गरेको छ। वरिष्ठ उपाध्यक्षमा २५१ मतसहित सुनिल शर्मा, उपाध्यक्षमा १७७ मतसहित सविता केसी भट्टराई, महासचिवमा १५८ मतसहित राजकुमार देवकोटा र सचिवमा १९५ मतसहित रमेश पराजुली निर्वाचित भएका छन्।

    त्यस्तै, कोषाध्यक्षमा २०८ मतसहित दिकी शेर्पा र सह–कोषाध्यक्षमा १६६ मतसहित जीवन कोइराला निर्वाचित भएका छन्। कार्यसमिति सदस्यमा स्मारिका थापा, प्रकाश लोहनी, नवीन गुरुङ, दिनेश मैनाली, सुमनलाल श्रेष्ठ, स्वस्तिका प्रधान, संकेत दाहाल र विभास पौडेल विजयी भएका छन्।

    नवनिर्वाचित कार्यसमितिको कार्यकाल दुई वर्षको हुनेछ। अध्यक्षमा निर्वाचित पाण्डे एभरेस्ट मिराकल ट्राभल्स एन्ड टुर्सका निर्देशक हुन् र पर्यटन क्षेत्रमा दुई दशकभन्दा लामो अनुभव रहेको जनाइएको छ।

    निर्वाचित भएपछि पाण्डेले नाट्टालाई नयाँ सोच, नयाँ कार्यशैली र संस्थागत सुधारको बाटोमा अघि बढाउने बताएका छन्। उनले आफ्नो कार्यकालमा सुशासन, पारदर्शिता तथा सदस्यहरूको सहभागितालाई प्राथमिकता दिने र संस्थाका सेवालाई प्रविधिमैत्री बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

    पाण्डेका अनुसार यसपटकको निर्वाचन अभियान विगतका निर्वाचनभन्दा फरक रह्यो। ठूलो भोजभतेर, तडकभडक तथा शक्ति प्रदर्शनभन्दा साथीभाइसँगको भेटघाट, छलफल र संवादमार्फत आफ्ना एजेन्डा मतदातासम्म पुर्‍याउने प्रयास गरिएको उनले बताए।

    नवनिर्वाचित नेतृत्वले आगामी दुई वर्षमा पर्यटन व्यवसायीका समस्या समाधान, पर्यटन प्रवर्द्धन, संस्थागत सुधार तथा व्यवसायमैत्री नीतिका लागि पहल गर्ने अपेक्षा गरिएको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page