नवलपुर । युवालाई उद्यमशीलतातर्फ आकर्षित गर्दै स्वरोजगार र आत्मनिर्भर बन्न प्रेरित गर्ने उद्देश्यले नवलपुरको मध्यविन्दु नगरपालिकामा आयोजित ‘युवा उद्यमशीलता : सोचदेखि सफलतासम्म’ विषयक अभिमुखीकरण कार्यक्रम सुरु भएको छ।
कात्तिक १७ गते चोरमारा क्लस्टरमा आयोजित कार्यक्रमको पहिलो दिन युवा अगुवा तथा उत्प्रेरक वक्ता राज कार्कीले मुख्य वक्ताका रूपमा सहजीकरण गर्नुभएको थियो।
कार्यक्रममा उहाँले युवाहरूलाई परम्परागत सोचबाट माथि उठेर नयाँ सम्भावनाको खोजी गर्न, स्थानीय स्रोतसाधनको उपयोग गर्न तथा आफ्नै ठाउँमा उद्यम स्थापना गरी आत्मनिर्भर बन्न प्रेरित गर्नुभयो।
विगत केही वर्षदेखि देशका विभिन्न स्थानमा युवालाई स्वरोजगार, सीप विकास र उद्यमशीलताका लागि अभिप्रेरित गर्दै आउनुभएका कार्कीले चोरमाराका युवामा देखिएको उत्साह र सक्रियताले आफूलाई थप ऊर्जा मिलेको बताउनुभयो।
‘सफलता कसैको भाग्यमा लेखिएको हुँदैन। यो दृढ संकल्प, सही सोच र निरन्तर मेहनतबाट आफ्नै हातले लेख्ने कुरा हो,’ उहाँले भन्नुभयो, ‘म यही विश्वासका साथ युवालाई आफ्नै माटोमा केही गर्न र सम्भावनाको खोजी गर्न प्रेरित गर्दै आएको छु।’
कार्यक्रममा स्थानीय युवाहरूको उत्साहजनक सहभागिता रहेको थियो। उद्यमशीलतासम्बन्धी सोच, सम्भावना र व्यावसायिक योजनाबारे युवालाई अभिमुखीकरण गर्ने कार्यक्रमको उद्देश्य रहेको आयोजकले जनाएको छ।
मुख्य वक्ताका रूपमा सहभागी हुन अवसर प्रदान गरेकोमा कार्कीले मध्यविन्दु नगरपालिकाका नगरप्रमुख भीमलाल अधिकारी तथा नगरपालिका परिवारप्रति आभार व्यक्त गर्नुभएको छ।
नगरपालिकाको नेतृत्व, स्थानीय युवाको सक्रियता र उद्यमशीलतासम्बन्धी यस्ता कार्यक्रमले मध्यविन्दु क्षेत्रमा स्वरोजगार तथा आत्मनिर्भरताको वातावरण निर्माणमा सहयोग पुग्ने विश्वास गरिएको छ।
सुटमालाका कार्यकारी निर्देशक एवं प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा परम्परागत सीपमा आधारित युवा सञ्जालका अध्यक्षसमेत रहनुभएका कार्कीले युवालाई उद्यमशीलतासँग जोड्ने अभियानलाई देशका विभिन्न क्षेत्रमा विस्तार गर्दै आउनुभएको छ।

-
राष्ट्रिय लोक दोहोरी व्यवसायी संघको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
-
चाँगुनारायणमा राष्ट्रियस्तरीय सो–क्योकुशिन फुल कन्ट्याक्ट कराते प्रतियोगिताको तयारी पूरा, २५० भन्दा बढी खेलाडी सहभागी हुने
-
मर्स्याङ्दीमा आठौँ मर्स्याङ्दी कप सुरु, पहिलो दिन ९०० विद्यार्थी सहभागी
-
विद्यालयका विद्यार्थी र शैक्षिक गतिविधि राजनीतिक प्रयोजनमा प्रयोग नगर्न अमर ज्योति जनता माविको आग्रह
-
काग तिहारको एकाबिहानै कलाकार रमेश दुलालले दरबारमार्गमा यसरी बोलाए सयौँ काग