गोरखा: गोरखाको बारपाक सुलिकोट गाउँपालिका–६, ताकुकोटस्थित प्रसिद्ध माईभगवती मन्दिर परिसरमा मंसिर ५ र ६ गते ‘ताकुकोट न्वागी मेला–२०८३’ आयोजना हुने भएको छ।
स्थानीय मौलिक संस्कृति, ऐतिहासिक परम्परा र धार्मिक पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुन लागेको मेलामा राष्ट्रियस्तरका चर्चित कलाकारहरूको सांगीतिक, हास्यव्यङ्ग्य तथा नृत्य प्रस्तुति रहनेछ।
मेलामा लोकदोहोरी गायिका निर्जला गुरुङ तथा गायकहरू चिज गुरुङ, सागर गुरुङ, सञ्जय गुरुङ र पवन गुरुङले सांगीतिक प्रस्तुति दिनेछन्। त्यस्तै चर्चित हास्य कलाकार मरिचमान श्रेष्ठ (बल्छी ध्रुवे), निर्देशक प्रकाश भट्ट, नृत्य कलाकार प्रिती गुरुङ र कमेडी कलाकार रामचन्द्र परियारको प्रस्तुतिसमेत रहने आयोजकले जनाएको छ।
राष्ट्रिय कलाकारहरूको प्रस्तुतिसँगै स्थानीय कलाकारहरूले चुट्का, झ्याउरे, मारुनी नाच, पञ्चेबाजा तथा विभिन्न मौलिक सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्नेछन्।
मेलाका अवसरमा माईभगवती मन्दिरमा पूजाआजा, व्रत बस्ने, मादी बाल्ने तथा न्वागी प्रसाद ग्रहण गर्ने कार्यक्रम पनि राखिएको छ। साथै धार्मिक अनुष्ठान, सांगीतिक कार्यक्रम र हाटबजार सञ्चालन गरिने आयोजकले जनाएको छ।
श्री माईभगवती मन्दिर संरक्षण तथा सम्बर्द्धन समिति र गोरखा–ताकुकोट सेवा समाज काठमाडौंको आयोजनामा हुन लागेको मेलामा बारपाक सुलिकोट गाउँपालिका, वडा नं. ५ र ६ का कार्यालय, समृद्ध ताकु युवा समाज काठमाडौं, माईकोट माध्यमिक विद्यालय, माईकोट नेवार गुठीलगायत विभिन्न संघसंस्थाले सहकार्य गर्नेछन्।
मेलालाई सफल बनाउन स्थानीय कलाकार, सांस्कृतिक समूह, युवा क्लब, आमा समूह, कृषक समूह, सहकारी तथा विभिन्न संघसंस्थालाई सहभागिताका लागि आयोजकले आग्रह गरेको छ। साथै मेला व्यवस्थापनका लागि दान, भेटी तथा आर्थिक सहयोग उपलब्ध गराउन पनि अनुरोध गरिएको छ।
न्वागी पर्वलाई सामूहिक रूपमा मनाउँदै ताकुकोटको मौलिक संस्कृति, परम्परा र धार्मिक पहिचानलाई भावी पुस्तासम्म हस्तान्तरण गर्ने उद्देश्य मेलाले राखेको आयोजकको भनाइ छ।
मंसिर ५ गते बेलुकादेखि सुरु हुने मेलामा ताकुकोट तथा आसपासका क्षेत्रका बासिन्दा, देशका विभिन्न स्थानमा बसोबास गर्दै आएका ताकुकोटे समुदाय तथा श्रद्धालु भक्तजनलाई सहभागी हुन आयोजकले निमन्त्रणा गरेको छ।

-
तीन जिल्लाको भूगोल, इतिहास र मातृभूमिको प्रेम समेट्दै रामचन्द्र ढकालको ‘स्याङ्जाको बजार–२, म्हाँजु भञ्ज्याङ’ सार्वजनिक
-
धुम्बाराहीमा खुल्दै जिग्री सेकुवाको १०औँ आउटलेट, पहिलो १०० ग्राहकलाई विशेष अफर
-
रेडियोको माइक्रोफोनदेखि कमेडीको मञ्चसम्म : गोरखाका आशिष न्यौपानेको यात्रा
-
नेपाल कपडा तथा सिलाइ व्यवसायी महासंघको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
-
काग तिहारको एकाबिहानै कलाकार रमेश दुलालले दरबारमार्गमा यसरी बोलाए सयौँ काग